१३ असार, प्युठान । प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज राना सवार सरकारी गाडी दुर्घटनामा परेको छ।
शनिबार दिउँसो स्वर्गद्वारी नगरपालिका–२ को खाला क्षेत्रमा स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु.प्र.०१–००१ झ ०००८ नम्बरको सरकारी गाडी अनियन्त्रित भई करिब ५०० मिटर तल भीरमा खसेको हो।
प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईंका अनुसार दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ। दुर्घटनामा मानवीय क्षति वा घाइतेको अवस्थाबारे तत्काल विस्तृत विवरण प्राप्त हुन सकेको छैन।
प्रहरीले उद्धार तथा घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ भने दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रशासनले जनाएको छ।





