१४ संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको २८ औँ बैठक आज बस्दैछ।
बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो। यस अघि असार ५ गते बैठक बसेको थियो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक तेस्रो पटक सूचना टाँसेर स्थगित गरिएको थियो। मन्त्री तथा रास्वपा सांसदहरू महाधिवेशनमै व्यस्त भएपछि संसदका महत्वपूर्ण विधेयक र बजेटसम्बन्धी कार्यसूची प्रभावित बनेका छन्।
बैठकका लागि संसद् सचिवालयले सम्भावित विभिन्न १२ वटा कार्यसूची तय गरेको छ। बैठकको सुरुमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुहुने कार्यसूची रहेको छ।
त्यसैगरी, प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले महालेखा परीक्षकको त्रिसट्ठीऔँ वार्षिक प्रतिवेदन, २०८३ पेस गर्नेछन्।
यस्तै बैठकमा सरकारका तर्फबाट विभिन्न महत्त्वपूर्ण संसोधन विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची छ । प्रधानमन्त्रीको तर्फबाट मन्त्री महावीर पुनले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन)विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्नेछन्।
अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण ९मनि लाउन्डरिङ्ग० निवारण ९तेस्रो संशोधन० विधेयक, २०८३ र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ सदनमा प्रस्तुत गर्नेछन्।
यसैगरी, बैठकमा आर्थिक विधेयक, २०८३ माथि प्राप्त संशोधनहरूसहित छलफल हुने र प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ। छलफल पश्चात् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
यसैगरी, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव पेस भई प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ र सो विधेयकलाई समेत पारित गर्ने कार्यसूची रहेको छ।
बैठकको अन्त्यमा प्रतिनिधि सभाका पूर्व सदस्य राजेन्द्र खरेलको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको संसद्का महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिएका छन् ।





