ब्रेकिङ न्युज

कर्णालीमा हराएको गाडीका चालक ९ दिनपछि मृत भेटिए

२७ असार, काठमाडौं ।  दैलेखमा कर्णाली नदीमा खसेर बेपत्ता भएको गाडीका चालक ९ दिनपछि मृत अवस्थामा फेला परेका छन्। प्रहरीले अछामको तुर्माखाँद गाउँपालिका–२ जमगडास्थित कर्णाली नदी किनारमा भेटिएको शव दुर्घटनामा बेपत्ता भएका चालक तुलाराम सुवेदीको भएको पुष्टि गरेको छ।

सुवेदी सुर्खेतको पञ्चपुरी नगरपालिका–माझिगाउँका बासिन्दा हुन्। उनी असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कप्र ०२–००१ ख १०५५ नम्बरको गाडी दुर्घटनामा परेपछि बेपत्ता भएका थिए। गाडी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङगेतडाबाट सडक छाडेर कर्णाली नदीमा खसेको थियो।

यसअघि सोही दुर्घटनामा परेका कालिकोटको पचालझरना गाउँपालिका–९ का मेखे तिरुवाको शव फेला परिसकेको छ। तर गाडीमा सवार सिर्जना खड्का र सहचालक रामप्रसाद सुवेदी अझै बेपत्ता रहेकाले उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

लगातारको खोजीपछि चालकको शव फेला परे पनि बाँकी बेपत्ता व्यक्तिको अवस्था अझै अज्ञात रहेकाले परिवारजन र उद्धार टोलीको प्रतीक्षा जारी छ।