ब्रेकिङ न्युज

बझाङमा जिप दुर्घटना : घटनास्थलमै ३ जनाको मृत्यु, हताहती अझै बढ्न सक्ने आशंका

२७ असार, काठमाडौं ।   बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा शनिबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा कम्तीमा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ। स्थानीय जनप्रतिनिधिका अनुसार दुर्घटना निकै गम्भीर भएकाले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।

गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराले जिप सडकबाट करिब ३०० मिटर तल खसेको जानकारी दिँदै स्थानीयवासी तत्काल उद्धार कार्यमा जुटेको बताए। गम्भीर घाइतेहरूको शीघ्र उद्धारका लागि हेलिकोप्टर परिचालन गर्ने विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको पनि उनले जानकारी दिएका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी टेकबहादुर जोराका अनुसार दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ। तर दुर्गम भूगोलका कारण विस्तृत विवरण आउन समय लागिरहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक विवरणअनुसार जिपमा करिब १५ देखि १६ जना सवार रहेको अनुमान गरिएको छ। यद्यपि, यात्रुको यकिन संख्या, मृतकको परिचय तथा घाइतेहरूको अवस्था सम्बन्धी आधिकारिक विवरण भने आउन बाँकी रहेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान तथा विवरण संकलन गरिरहेको जनाएको छ।