समाचार

माइक्रोले ८ वटा सवारीसाधनलाई ठक्कर दियो : १ जनाको मृत्यु, ६ घाइते

९ साउन, काठमाडौं । काठमाडौंको महाराजगन्जमा एउटा माइक्रोले ८ वटा सवारीसाधनलाई ठक्कर दिएको छ ।

उक्त दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

प्रहरीका अनुसा शुक्रबार बेलुका सवा ७ बजेको समयमा महाराजगन्जस्थित प्रहरी वृत्तअगाडि उक्त दुर्घटना भएको हो ।

प्रहरी वृत्तअगाडिको सडकमा बसुन्धारा चोकबाट चाबहिलतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३(००१ज ०८१४ नम्बरको माइक्रोले सोही दिशातर्फबाट आएका सवारीसाधनलाई ठक्कर दिएको हो ।


प्रहरीका अनुसार उक्त दुर्घटनामा परी उक्त माइक्रोका चालक लम्जुङको सिद्धी गाउँपालिका(५ घर भई हाल कपन बस्ने ५६ वर्षीय रामकृष्ण हवालको मृत्यु भएको छ ।


दुर्घटनामा घाइते भएका उनलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएकामा उपचारका क्रममा ८स्१० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी बा प्र ०२-०५६ प ६३५५ नम्बरको स्कुटरमा सवार सिन्धुपाल्चोक घर भई हाल कपन बस्ने श्रीमान्- श्रीमति ३७ वर्षीय सरोज ढुंगाना र ३५ वर्षीया बिनिता ढकाल घाइते भएका छन् ।

त्यस्तै, बा ५५ प १०७८ नम्बरको मोटरसाइकल चालक उदयपुर घर भई धुम्बाराही बस्ने ३३ वर्षीय सूर्य मगर घाइते भएका छन् । उक्त मोटरसाइकलमा पछाडि सवार जोरपाटीका ६१ वर्षीय ज्ञानबहादुर सुनुवार घाइते भएका छन् ।

बा ४ ख ७८२४ नम्बरको गाडीमा सवार कालीकोट घर भई कपन बस्ने ३५ वर्षीय गणेशबहादुर शही र बा प्र ०१-००२ ज ९५०२ नम्बरको ट्याक्सीमा सवार टोखाका ४४ वर्षीय पूर्ण गरी घाइते भएका छन् ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।