९ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिका-१२ स्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख अनुपमा ढकाल र मेकानिकल तुलाकान्त चौधरीलाई ७ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ गरेको छ।
अख्तियार प्रवक्ता सुरेश न्यौपानले आज विज्ञप्ति जारी गरी दिएको जानकारीअनुसार डिभिजन कार्यालयस्थित कार्यालय प्रमुखको क्वाटरबाट नगदसहित उनीहरूलाई शुक्रबार नियन्त्रणमा लिइएको हो।
बोरिङ र मोटर जडान सम्पन्न भएपछि रकम भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग उनीहरूले ७ लाख ५० हजार रुपैयाँ घुस लिएको दाबी अख्तियारले गरेको छ।
उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले डिभिजन प्रमुख ढकाल र मेकानिकल अधिकृत चौधरीलाई सेवाग्राहीबाट लिएको रकमसहित पक्राउ गरिएको दाबी अख्तियार प्रवक्ता न्यौपानेले गरेका छन्।
साथै उनीहरूको साथबाट स्रोत नखुलेको ७१ हजार ११५ रुपैयाँ र तीनवटा मोबाइल पनि बरामद गरिएको अख्तियारले जनाएको छ ।





