समाचार

घरमाथि पहिरो खस्दा मुगुमा छोराको मृत्यु, आमाबुवा घाइते

९ साउन, काठमाडौं । मुगुमा घरमाथि पहिरो खस्दा तीन वर्षीय एक बालकको मृत्यु भएको छ ।

मुगम कार्मारोङ गाउँपालिका–५, पुलु बजारमा घरमाथि ढुंगासहितको पहिरो खस्दा ती बालकको मृत्यु भएको हो । दुईजना घाइते भएका प्रहरीले जनाएको छ ।

आज बिहान करिब ४ बजे उक्त स्थानस्थित पेमा लामाको घरमा होटेल सञ्चालन गरी बस्दै आएका छायाँनाथ रारा नगरपालिका–१३, तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सिर्जना र तीन वर्षीय छोरा रमेश सुतिरहेको अवस्थामा पहिरो खसेको थियो ।

पहिरोले च्यापिएका तीन वर्षीय बालकलाई प्रहरी टोलीले घटनास्थलबाट उद्धार गरेको थियो । बिहान ४ः४८ बजे उनलाई पुलु स्वास्थ्य चौकी पुर्‍याइए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

घटनामा जगनाथ र सिर्जना सामान्य घाइते भएका छन् । पुलु स्वास्थ्य चौकीमा उनीहरूको उपचार भइरहेको छ ।

पहिरोले उक्त घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । त्यस आसपासका अरू आठ घर पनि उच्च जोखिममा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।