अन्तर्राष्ट्रिय

दुई वटा बस एक आपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते

९ साउन, दमास्कस । सिरियाको मध्य–पूर्वी मरुभूमि क्षेत्रमा आज दुई यात्रुवाहक बस एकआपसमा ठोक्किएर भएको दुर्घटनामा ३५ जनाको मृत्यु भएको छ।

घटनामा थप ३० जना घाइते भएका सिरियाली सञ्चार माध्यमहरूले जनाएका छन्।

दमास्कस–देइर एजोर सडकमा दुई यात्रु बस एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

सिरियाली समाचार संस्था सानाले स्वास्थ्य मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै बस दुर्घटनामा कम्तीमा ३५ जनाको मृत्यु भएको र ३० जना घाइते भएको पुष्टि गरेको छ।

गृह मन्त्रालयले यो दुर्घटना आन्तरिक सुरक्षा बलका केही कर्मचारी बोकेको बस र अर्को सार्वजनिक बस आपसमा ठोक्किएर भएको बताएको छ। घाइते र मृत्यु हुनेमध्ये कति जना सुरक्षा बलका थिए भन्ने विषय भने मन्त्रालयले खुलाएको छैन।

राष्ट्रिय टेलिभिजनले दुर्घटनाका दृश्यहरू प्रसारण गरेको छ, जसमा आगो लागेको बस तथा राजमार्गभर छरिएका भग्नावशेष र मृतकहरूका तस्बिर देखिन्छ।