ब्रेकिङ न्युज

कांग्रेस फुटको चर्चाबीच सभापति थापाको दाबी: पार्टी एकता सहमतिउन्मुख

१० साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकता सहमतिउन्मुख रहेको दाबी गरेका छन् ।

पार्टी एकताका लागि दबाब दिन नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गानाको नेतृत्वमा कांग्रेस समर्थित स्थानीय तहका जनप्रतिनिधिसँग आज भएको भेटमा उनले पार्टी एकता सहमतिउन्मुख दिशामा रहेको बताएका हुन्।

सभापति थापाले वर्तमान चुनौती सामना गर्न पनि पार्टी एकता अपरिहार्य रहेको भन्दै एकतामा असर पर्ने काम नगर्न सबैसँग आग्रह गरेको दबाब अभियानका संयोजक ढुङ्गानाले जानकारी दिए ।

सभापति थापाले पार्टी एकताका लागि दबाब अभियानले यही साउन १६ गते आयोजना गर्न लागेको राष्ट्रिय भेलासमेत स्थगित गर्न आग्रह गरेका थिए ।

असन्तुष्ट नेतासँग कार्यदल बनाएर सूक्ष्म रूपमा सहमतिको खाका बनाउन दुई जना सदस्यको नाम मागिएको र चार सदस्यीय कार्यदल एक–दुई दिनभित्र बन्ने जानकारीसमेत सभापति थापाले गराएको कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले जानकारी दिए ।

भेटका क्रममा स्थानीय तहका जनप्रतिनिधिले पार्टी एकताबिना गाउँमा जनतालाई आशावादी बनाउन नसकिने र पार्टीको साख फर्काउन नसकिने बताएका थिए ।

उनीहरूले तत्काल पार्टी एकता गरेर आमजनतामा विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिएको भेटमा सहभागी शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले जानकारी दिए ।

सभापति थापाले पार्टी एकता सहमतिमा पुगेर कांग्रेस एक हुनेमा आश्वस्त तुल्याएको तिलागुफा नगरपालिकाका नगरप्रमुख शङ्कर उपाध्यायले जानकारी दिए ।