समाचार

सम्बन्धविच्छेद प्रमाणपत्रका लागि घुस लिँदै गरेका वडा सचिव अख्तियारको फन्दामा

११ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको गौरीगञ्ज गाउँपालिका–१ का वडा सचिव अजय कुमार साहलाई १० हजार रुपैयाँ घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको छ।

अख्तियारका अनुसार सम्बन्धविच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने क्रममा सेवाग्राहीलाई दुःख–हैरानी दिई घुस मागेको भन्ने सूचना र उजुरीका आधारमा आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले सोमबार साहलाई सेवाग्राहीबाट १० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।

उनीलाई घुसको रकमसहित गौरीगञ्ज–१ स्थित एक स्थानीय होटलबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।