समाचार

सरकार चुनौतीको सामना गर्न तयार : मन्त्री केसी

भक्तपुर। सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले वर्तमान सरकारका अगाडि चुनौतीको पहाड रहेपनि सामना गर्दै अगाडि बढ्ने बताएका छन्।

नेपाली काँग्रेस भक्तपुर नगर समितिको कार्यालयको आज यहाँ उद्घाटन गर्दै उनले भने, “विसं २०७४ माघसम्म तीनवटै तहको निर्वाचन सम्पन्न गर्ने, मधेसी मोर्चालगायत असन्तुष्ट पक्षलाई मिलाएर संविधान कार्यान्वयन गर्नुपर्ने र यसअघिको सरकारले ल्याएको बजेटलाई कार्यान्वयन गर्ने चुनौती छ, त्यसका निकै अप्ठ्याराहरु रहेका छन्।”

आवश्यकताअनुसार संशोधन गर्दै संविधान कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति दुर्लभ थापालगायतले संविधान कार्यान्वयनको पाटोलाई मजबुद बनाउँदै जनताको पक्षमा सरकार उभिनुपर्नेमा जोड दिए। रासस