राजनीति

प्रधानमन्त्री प्रचण्ड सोमबार नै अमेरीका जाने, कोको छन् त टोलीमा भाग्यमानीहरु ?

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७१औं महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सोमबार अमेरिका जाने भएका छन् ।

प्रधानमन्त्री प्रचण्डले महासभालाई सम्बोधन गर्ने र केही उच्चस्तरीय एवम द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको भ्रमण टोलीमा धर्मपत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा। प्रकाशशरण महत,प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा ऋषि अधिकारी, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जोखबहादुर महरा र मुख्य सचिव डा सोमलाल सुवेदी छन् ।

यस्तै परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी, परराष्ट्र मन्त्रालयका सहसचिव एवम् संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय सङ्घ संस्था महाशाखाका प्रमुख भरतराज पौड्याल छन्। टोलीमा प्रधानमन्त्रीका निजी चिकित्सक डा युवराज शर्मा पनि सहभागी हुनेछन् ।

यस्तै परराष्ट्र मन्त्रालयका क्षेत्रीय सङ्गठन महाशाखाका सहसचिव मणिप्रसाद भट्टराई, प्रधानमन्त्रीका स्वकीय सचिव साकार दाहाल, प्रधानमन्त्रीका दुई सुरक्षा अधिकृत पनि टोलीमा सहभागी हुनुहुनेछ । प्रतिनिधिमण्डलमा राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत डा। अर्जुन कार्की र त्यहाँका उच्च अधिकारीसमेत सहभागी हुनुहुनेछ ।

न्यूयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्डले छिमेकी तथा मित्रराष्ट्रका सरकार एवम् राष्ट्र प्रमुखसँग आपसी हित र चासोका विषयमा कुराकानी गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 राष्ट्रसंघ महासचिवलार्इ भेट्ने

प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघका महासचिव वान किमुनसँग विशेष भेटवार्ता गर्नु तय भएको छ । प्रधानमन्त्रीले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघका महासचिव वानले आयोजना गर्ने विशेष समारोहमा मन्तव्य दिने कार्यक्रम छ ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्ड महासभामा भाग लिने सरकार तथा राष्ट्रप्रमुखको सम्मानमा महासचिव वान र अमेरिकी राष्ट्रपति बाराक ओवामाले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।

महासभाको अवसर पारेर दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०को मन्त्रिस्तरीय बैठकमा परराष्ट्रमन्त्री डा महत सहभागी हुनुहुनेछ । सोही अवसरमा परराष्ट्रमन्त्री डा महतले छिमेकी राष्ट्रका विदेशमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

नेपाली प्रतिनिधिमण्डलले न्युयोर्कमा रहँदा त्यहाँ आयोजना हुने नेपाललाई चासो भएका अति कमविकसित, विकासशील, जी–७७ तथा अन्य साझेदारसँग दिगो विकास लक्ष्यपछिका विकास एवम् जलवायु परिवर्तनलगायतका विषयमा विभिन्न तहमा छलफल गर्ने र अनुभव आदानप्रदान गर्ने कार्यक्रम छ ।

महासभामा नेपालले जलवायु परिवर्तन, आतङ्कवाद र अल्पविकसित तथा भू–परिवेष्ठित मुलुकका मुद्दालाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।

जलवायु परिवर्तनको असरबाट नेपाललगायतका मुलुकले भोग्नुपरेको समस्या, हिमालय पर्वतदेखि तटीय क्षेत्रका मुलुकसम्म आइपरेको समस्या र त्यसबाट आइपर्नसक्ने सम्भावित क्षतिलाई रोक्न अन्तर्राष्ट्रिय समुदायको चासो र चिन्तासहितको एकीकृत कार्यक्रमका पक्षमा आफ्नो धारणा राख्ने तयारी गरिएको छ ।

विश्व शान्ति स्थापनामा नेपालले संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनामा खेलेको भूमिका र राम्रो सम्बन्धका कारण पनि अल्पविकसित मुलुकका मुद्दा नेपालको प्राथमिकतामा पर्ने विश्वास लिइएको छ । नेपालले विगत साढे पाँच दशकदेखि विश्व शान्ति स्थापना कार्यमा ४० भन्दा बढी मुलुकमा खटिएर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

महासभामा सहभागी हुन परराष्ट्रमन्त्री डा महत आइतबारै नयाँ दिल्लीबाटै न्युयोर्क प्रस्थान गरिसेका छन् । प्रधानमन्त्री प्रचण्डसँगै भारत भ्रमणमा रहनुभएका मन्त्री महत दिल्लीको औपचारिक भेटवार्ता सकिएपछि आइतबार बिहानै न्युयोर्क प्रस्थान गरेका हुन् ।

न्युयोर्कमा गत मंगलबार सुरु भएको महासभा १० दिनसम्म चल्नेछ ।