पु.समाचार

संबिधान संशोधनले मधेस समस्या समाधान हुन्नः भण्डारी

काठमाडौँ । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले प्रधानमन्त्रीले संविधान संशोधन गर्न अघि सारेको प्रस्तावले मधेसको समस्या समाधान नहुने बताएका छन्।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा नेता भण्डारीले विवादित पाँच जिल्लालाई थाँती राखेर प्रदेशको सीमाङ्कनबारे विवाद समाधान गर्ने प्रधानमन्त्रीको प्रस्तावले समस्या समाधान नहुने बताए। “सीमाङ्कनको समाधान नै अहिलेको मुख्य समस्या हो, यसलाई टुङ्ग्याइनुपर्छ भन्ने हाम्रो माग छ, थाँती राख्ने र आयोग बनाएर विवादित पाँच जिल्लाको समस्या समाधान गर्ने प्रस्ताव हामीलाई मान्य छैन, यसो गरियो भने पछि अरु समस्या उत्पन्न हुन्छ”– उनले भने।
राज्य पुनःसंरचना आयोगले अघि सारेको प्रस्ताव अनुसार सामथ्र्य र पहिचानकै आधारमा प्रदेशको सीमाङ्कन हुनेमा विश्वस्त हुँदै उनले भने– “मोर्चा जातीय राज्यको पक्षमा छैन, तर पहिचान मेटिनुहुँदैन, संशोधन प्रस्ताव दर्ता गर्दा हतारिनुभन्दा पनि गम्भीरताका साथ अघि बढाउनुपर्छ।”
स्थानीय निकाय चुनावका लागि गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या र सिमाना निर्धारण आयोगले अघि सारेको सङ्ख्यामा समेत मोर्चाको आपत्ति रहेको उनले बताए। स्थानीय निकाय प्रादेशिक संरचनाको मर्म र भावनानुसार अघि बढ्ने सङ्घीय प्रावधान भएकाले अहिलेको प्रक्रिया र आधार नै गलत रहेको उनको भनाइ छ। रासस