पु.समाचार

राजनीतिक स्थिरताका लागि संविधान संशोधन महत्वपूर्ण एजेण्डा : गृहमन्त्री

जनकपुरधाम । उप-प्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले राजनीतिक स्थिरताका लागि संविधान संशोधन महत्वपूर्ण एजेण्डा भएको बताएका छन्।

नेपाली काँग्रेस धनुषा जिल्ला कार्य समितिद्वारा शनिबार जनकपुरमा आयोजित स्वागत कार्यक्रममा उनले संविधान संशोधन गरी कार्यान्वयन गरिएमा राष्ट्रबाट अन्योल समाप्त हुने बताए।
संविधानलाई सर्वस्वीकार्य बनाउन सीमाङ्कन निर्धारण, वैवाहिक अङ्गीकृत नागरिकता प्रावधान, राष्ट्रियसभाको गठन र भाषाबारे संविधानमा संशोधनको आवश्यकता रहेकोले सरकार संविधान संशोधानको गृहकार्यमा लागेको र छिट्टै संशोधन प्रस्ताव दर्ता गराउने उनले जानकारी दिए।
संविधान संशोधन हुने बताउँदै उनले संशोधन गरी निर्धारित समयमै स्थानीय, प्रादेशिक र केन्द्रीय निर्वाचन सम्पन्न नभएमा मुलुकमा शून्यताको स्थिति आउन सक्ने चिन्ता व्यक्त गरे। ‘संविधानको पुनर्लेखन र संशोधन एउटै कुरा हो, यस बारेमा विपक्षी दल एमालेले भ्रम उत्पन्न गरिरहेको छ,’ उनले भने। मधेसको मुद्दाको सम्बोधन सबै दलको एजेन्डा भएको र मधेसवादी दलले संशोधनमा सहभागिता जनाउनुआवश्यक भएको उनको भनाइ थियो। रासस