समाचार

पूर्व गृहमन्त्री घिमिरे सहित त्रिशुलीमा बेपत्ताको खोजी कार्य जारी (अपडेट)

चितवन । आइतबार साँझ पृथ्वी राजमार्गअन्तर्गत चितवनको दाह्रेचोक गाविस–३ घोप्टेभिरबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित उनका तीन दाजुभाइको खोजी कार्य पुनःआज बिहानबाट सुरु भएको छ ।

घटनास्थलमा रहेका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहका अनुसार राति १ :३० बजेसम्म खोजी कार्य जारी राखेको भए पनि फेला पार्न नसकिएपछि बिहान ५:३० बजेबाट पुनः खोजी कार्य थालिएको छ।
राति चुम्बक र हुक एङकरले नदीमा गाडी र व्यक्तिको खोजी कार्य गरिएको भए पनि फेला पार्न नसकिएको हो। जेनेरेटर चलाएर लाइटिङ टावरमार्फत उज्यालो पारेर खोजी गरिएको थियो। गोताखोर समेत खोजी कार्यमा जुटेका छन् ।
आज बिहानबाट भने जिल्लाको रसौलीमा रहेको नेपाली सेनाको विपद् व्यवस्थापन गणको टोली पनि परिचालन गरिएको उनले बताए। गाडी खसेको ठाउँमा एउटा डुङ्गामा चढेर खोजी कार्य जारी छ भने अर्को डुङ्गामार्फत नदीको बहावसँगै खोजी कार्य थालिएको छ। नदीका अन्य ठाउँमा पनि नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन भएको सिंहले बताए।
दुर्घटनाभएसँगै कुरिनटारमा रहेको सशस्त्र प्रहरी विपद् व्यवस्थापन तालिम केन्द्रको टोली अनवरत रुपमा जुटिरहेको छ । सोही ठाउँबाट केही दिन अघि त्रिशूलीमा खसेको ट्रक पनि अझै बेपत्ता छ। पानी धमिलो र खोलाको बहाव उच्च रहेकाले खोजी कार्यमा कठिनाइ भएको छ ।
दुर्घटनामा परी घिमिरेसहित तीन दाजुभाइ त्रिशूली नदीमा बेपत्ता भएका छन्। घिमिरेसहित उनका भाइ प्रकाश र मोहन बेपत्ता भएका हुन्। गाडी पनि नदीमा बेपत्ता भएको छ।
दुर्घटनामा परी घिमिरेकी आमा ८० वर्षीया चैतन्यकुमारी घिमिरे, सुरक्षागार्ड सशस्त्र प्रहरी नायब निरीक्षक (सई) रामचन्द्र कार्की र आफन्त नारायण काफ्लेको मृत्यु भएको हो। काफ्ले घिमिरेका भान्जा भएको बताइएको छ ।
मुक्तिनाथबाट पोखरा हुँदै काठमाडौँतर्फ जाँदै गरेको बा ९ च १५३१ नम्बरको स्करपियो गाडी त्रिशूलीमा खसेको हो। चालक प्रहरीका हवल्दार विष्णु राई घाइते भएका छन्।राससका अनुसार उनको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।