पु.समाचार

असोज १६ गतेदेखि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्ने

काठमाण्डौ । सरकारले दशैंमा सर्वसाधारणका लागि असोज १६ गतेदेखि नयाँ नोट वितरण गर्ने भएको छ । त्यसअघि राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तिय संस्थाहरुलाई असोज ९ देखि १४ गतेसम्म नोट वितरण गर्ने जनाइएको छ ।

राष्ट्र बैंकले थापाथलीस्थित केन्द्रीय कार्यालय र राजधानी बाहिरका शाखाहरुबाट नयाँ नोट वितरण गर्ने जनाइएको छ भने अन्य बैंक तथा वित्तिय संस्थाहरुले आ–आफ्ना केन्द्रीय तथा शाखा कार्यालयबाट नोट वितरण गर्ने जनाइएको छ ।

राष्ट्र बैंकले बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म नोन वितरण गरिने जनाएको छ । उपभोक्ताहरुको हितलाई मध्यनजर गर्दै राष्ट्र बैंकले यो पटक बृद्ध बृद्धा र महिलाहरुको लागि छुट्टै काउन्टरको समेत व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले यसपटक प्रतिव्यक्ति ३७ हजार रुपैयाँसम्म सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिएको छ। गत वर्षको भन्दा यो धेरै हो।

अघिल्लो वर्ष दसैंतिहारमा सर्वसाधारणले प्रतिव्यक्ति २२ हजार रुपैयाँसम्म यो सुविधा पाएका थिए। यसपालिको दसैंमा सर्वसाधारणले ५, १०, २०, ५० र १०० का गरी दुईरदुई प्याकेटका दरले सटही गर्न पाउने छन्।