ब्रेकिङ न्युज

कांग्रेसको नयाँ सदस्यता अभियानले किन बढायो राजनीतिक चासो ?

१० असार, काठमाडौं । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै नयाँ क्रियाशील सदस्यता वितरण अभियानलाई तीव्र र व्यवस्थित बनाउन देशभर विशेष अभियान सुरु गरेको छ। यसका लागि पार्टीले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।

कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार नियुक्त गरिएका प्रतिनिधिहरूले सम्बन्धित जिल्लामा पुगेर सदस्यता वितरण, समन्वय र सहजीकरणको जिम्मेवारी सम्हाल्नेछन्। पार्टी कार्यालयका अनुसार उनीहरूलाई असार २० गतेभित्र सम्बन्धित जिल्लामा उपस्थित भएर काम सुरु गर्न निर्देशन दिइएको छ।

यस अभियानको मुख्य उद्देश्य पार्टीभित्र युवा सहभागिता बढाउनु रहेको बताइएको छ। विशेषगरी ३५ वर्षमुनिका युवाहरूलाई क्रियाशील सदस्यतामा आकर्षित गर्दै आगामी नेतृत्व निर्माणमा उनीहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने रणनीति कांग्रेसले अघि सारेको छ।

महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसले संगठन विस्तार, नयाँ सदस्य आकर्षण र पार्टी संरचनालाई थप सुदृढ बनाउने लक्ष्यसहित सदस्यता वितरण अभियानलाई प्राथमिकतामा राखेको छ। पार्टी नेतृत्वले यो अभियानले महाधिवेशनअघि संगठनलाई थप चलायमान र युवा केन्द्रित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।