पु.समाचार

राष्ट्रको स्वार्थ केन्द्रीत विदेश नीति परराष्ट्रमन्त्री महत

प्रकाश शरण महत

ललितपुर । परराष्ट्र मन्त्री डा प्रकाशशरण महतले राष्ट्रिय स्वार्थ र आवश्यकतालाई केन्द्रविन्दुमा राखेर पराष्ट्र नीति बनाउनु पर्ने बताएका छन्।

नेपाल विश्व सम्बन्ध परिषदद्वारा आजआयोजित नेपालका परराष्ट्र नीतिका कडी विषयक अन्तक्रियामा बोल्दै उनले समृद्ध नेपाल बनाउने लक्ष्यअनुरुप अघि बढ्नुको विकल्प नभएको बताए । ‘‘विदेश नीति बनाउन जति महत्वपूर्ण छ, त्यति नै क्रियाशील हुनु जरुरी छ’’–उनले भने।

छिमेकी देशसँगको सम्बन्ध छरछिमेकको जस्तो बनाउनु आवश्यक रहेको उनको भनाइ छ। विश्वासको सम्बन्ध कायम रहने गरी विदेश नीतिको आवश्यकता रहेको उनले औँल्याए।

कुटनीतिकमार्फत विदेश नीतिलाई मजवुत र सम्बन्धलाई अझ विकसित गर्न सकिने उनले बताए। भारतसँग पहिलेदेखि नै अन्तरसम्बन्ध रहँदै आएकाले यसलाई थप मजवुत बनाउनुपर्ने उनको जोड थियो।

यसैगरी चीनसँगको सम्बन्ध ऐतिहासिक रुपमै राम्रो हुँदै आएकाले उक्त सम्बन्धलाई विकसित गरिंदै लैजानुपर्नेमा उनले जोड दिए।

छिट्टै नै प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने भारत भ्रमणले नेपाल भारतको सम्बन्धलाई अझ प्रगाढ बनाउन सफल हुने उनको धारणा थियो। प्रधानमन्त्रीको भारत भ्रमणपछि भारतको राष्ट्रपतिले पनि नेपालको भ्रमण गर्ने उनको भनाइ थियो ।

संस्थाका अध्यक्ष डा राजेन्द्रबहादुर श्रेष्ठले मजवुत विदेश नीतिले मात्र देशको विकास सम्भव रहेको बताए। रासस