समाचार

दलित र ब्राह्मणक्षेत्रीका जमरा एकै ठाउँमा

त्रिशूली (नुवाकोट)

एकता दिवसको सम्झना

बेलकोट–३ स्थित निरञ्जना भगवती मन्दिरमा परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि दलित र ब्राह्मणक्षत्रीले सामूहिक रुपमा जमरा राखेका छन्।
उपल्लो जानका भनिएकाको सँगै बेलकोट–१, २ र ३ मा बसोबास गर्ने दलित गरी पनि एक सय १० परिवारले मन्दिरमा सामूहिक जमरा राखेका हुन्। मन्दिरमा सामूहिक जमरा राख्ने परम्परा पृथ्वीनारायण शाहको पालादेखि चल्दै आएको स्थानीयवासी बताउँछन् । मन्दिरमा पुस्तौँदेखि चलिआएको सामूहिक जमरा राख्ने परम्पराले आजसम्म पनि निरन्तरता पाइरहेको र त्यसमा जातीय विभेद नभएको पूजा सञ्चालन समितिका अध्यक्ष श्यामप्रसाद तिवारीले बताए।
सामूहिक जमराको अभ्यासले जमरा राखेपछि दैनिक अनिवार्य रुपमा पूजाआजा गर्नुपर्ने र जमराको स्याहारसुहार गर्ने समय समेत बचत भएको स्थानीय शिक्षक जीवराज कँडेलले बताए। निरञ्जना भगवती मन्दिर पौराणिक र शक्तिपीठका रुपमा परिचित छ। बडादसैँमा काठमाडौँ हनुमानढोकाको वैदिक विधिअनुसार पूजा सञ्चालन हुँदै आएको छ । मन्दिरमा बडादसैँ अवधिभर विशेष पूजा सञ्चालन हुने गरेको मन्दिरका पुरोहित नारायणप्रसाद पौडेलले बताए।
मन्दिरमा बडादसैं सञ्चालनका लागि पहिले गुठी जग्गाको कुतबालीबाट पूजाको सञ्चालन गर्ने चलन रहे पनि गुठी जग्गाबाट कर सङ्कलन हुन छाडेपछि गाविसले वार्षिक ५० हजार अनुदान प्रदान गरेको गाविसका पूर्वअध्यक्ष वासुदेव कडुवालले बताए।
बेलकोटगढी नुवाकोटका नौ कोटमध्येको एउटा हो । बेलकोटगढी र निरञ्जना भगवती मन्दिरको संरक्षण र संस्कृति जोगाइराख्नका लागि युवाको सक्रियता महसुस गरेर बेलकोट युवा क्लबको स्थापना गरी सरसफाइसहित विभिन्न सचेतनाका कार्यक्रम सञ्चालन गरिँदैआएको अध्यक्ष राजकुमार पौडेलले बताए।
एकता दिवसको सम्झना
पृथ्वीनारायणले नेपाल एकीकरण थालेर पहिलो विजय गरेको दिन असोज १५ लाई यहाँ एकता दिवसका रुपमा सम्झना गरिएको छ । विजय दिवसका रुपमा नुवाकोटको साततले दरबार क्षेत्रमा शनिबार आयोजित कार्यक्रममा उनको योगदानको चर्चा गरियो । पृथ्वीनारायणले विसं १८०१ असोज १५ गते नेपाल एकीकरणका क्रममा नुवाकोटमा पहिलो विजय प्राप्त गरेका थिए ।
नुवाकोटको विजयपछि पृथ्वीनारायण शाहले बेलकोट लगायत, कान्तिपुर, कीर्तिपुर सहितका बाइसे चौबिसे राज्य जितेर नेपाल एक बनाएपछि २५ वर्षसम्म नुवाकोट टाकुरो देशकै राजधानी बन्न पुगेको र हाल आएर उनको योगदान बिर्सन थालिएको पृथ्वी विचार अभियानकर्मी भरत बस्नेतले बताए। नेपालको राष्ट्रियता देश टुक्र्याएर होइन, सङ्गठित र एक भएर मात्र मजबुत हुने उनको ठहर छ।
प्रा पेशलकुमार निरौलाले सङ्घीयताबाट देश टुक्र्याउन नहुने तर्क गर्दै लामो सङ्घर्ष र युद्वबाट एक भएको नेपाललाई सङ्घीयता र गणतन्त्रका नाममा विखण्डन गर्न खोजिएका कारण नेपालको राष्ट्रियताको संरक्षणका लागि राष्ट्रवादको अभियान सञ्चालन गरिएको बताए।
कार्यक्रममा पृथ्वी विचार अभियानकाम खगेन्द्र सिटौलाले सङ्घीयताका नाममा देश टुक्र्याउने र जातजाति लडाउने खालको संविधान स्वीकार्य नहुने बताए। कार्यक्रममा राष्ट्रिय धर्मसभा नुवाकोटका अध्यक्ष यादवराज पाण्डे लगायतले नेपालमा भौगोलिक पहिचानबाटै राष्ट्रियताको संरक्षण हुने जिकिर गरे। कार्यक्रममा विभिन्न राजनीतिक दल, समर्थक, कार्यकर्ता, सर्वसाधारण तथा पृथ्वीनारायण शाहका अनुयायीको सहभागिता थियो । रासस