पु.समाचार

ब्रिक्स सम्मेलनमा प्रचण्डलाई चिनियाँ राष्ट्रपतिले दिए यस्तो आश्वासन !

एजेन्सी– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिन पिङसँग शनिबार भेटवार्ता गरेका छन् । भारतको गोवामा जारी ब्रिक्स सम्मेलनमा सहभागिता जनाउन त्यहाँ पुगेका प्रधानमन्त्री दाहालले राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपति सीले आफु चाँडै नेपाल भ्रमण गर्न इच्छुक रहेको बताएका छन् । भेट लगत्तै प्रधानमन्त्री दाहालले राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

भेटका क्रममा दुई देशीय हितका सम्बन्धमा कुरा भएको श्रोतले बताएको छ । छलफलमा पूर्वाधार, सञ्चार,व्यापार र पारवहन लगायतका क्षेत्रको विकासका लागि दुवै देशले सहकार्य गर्ने कुरालाई विशेष महत्व दिइएको बताइएको छ ।

केही महिनाअघि उपप्रधानमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्रीको विशेष दूतका रुपमा चीन पुगेरै निमन्त्रणा दिएका थिए । चीनले अनूकुल समयमा आफ्ना राष्ट्रपतिले नेपालको भ्रमण गर्ने आश्वासन दिँदै आएको थियो ।

गोवामा प्रधानमन्त्री दाहालले भुटानी प्रधानमन्त्री छिरिङ तोग्वेसँग पनि भेटघाट गरेका थिए । प्रधानमन्त्री दाहाल गोवा पुग्नासाथ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका थिए ।

प्रधानमन्त्री मोदीले स्वागत गर्नासाथ आफ्नो ट्वीट अकाउन्टमा नेपालीमै प्रधानमन्त्री दाहाललाई न्यानो स्वागत भनेर ट्वीट गरेका थिए । नेपाली भाषामै लेखिएको उक्त ट्वीटमा प्रधानमन्त्री मोदीले लेखेका छन्, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई न्यानो स्वागत, उनको भ्रमणले भारत–नेपालबीचको सम्बन्ध थप सुमधर हुनेछ ।’