पु.समाचार

पाकिस्तान र भारतका समस्या वार्ताबाटै समाधान गर्नुपर्छः राजदूत जावेद

काठ्माण्डौ । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले कास्मिरलगायत पाकिस्तान र भारतबीचका सम्पूर्ण समस्या वार्ताको माध्यमबाटै समाधान गर्नुपर्छ भन्नेमा आफ्नो मुलुक दृढ रहेको बताएका छन्।

यहाँस्थित पाकिस्तानी दूतावासमा आज आयोजित ‘जम्मुकास्मिर विवादमा मानवअधिकारको आयाम’ विषयक प्रवचन कार्यक्रममा उनले कास्मिरी जनताको स्वनिर्णयको अधिकारको भारतले सम्मान गर्नुपर्नेमा जोड दिए।
उनले भने – “संयुक्त राष्ट्रसङ्घले पारित गरेको प्रस्ताव र तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले कास्मिरी जनताको स्वनिर्णयको अधिकारको सम्मान गर्ने लिखित प्रतिबद्धता कार्यान्वयन हुनुपर्छ।”
दक्षिण एसियाको स्थायित्व, विकास र शान्तिका लागि भारत र पाकिस्तानबीच मैत्री अपरिहार्य भएको धारणा उनले व्यक्त गरे। कार्यक्रममा विभिन्न राजनीतिक दलका सांसद, पूर्व राजदूत, प्राध्यापक तथा वरिष्ठ पत्रकारलगायत समाजका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो। रासस