पु.समाचार

गाईतिहारमा मस्त छन् आईतबार हिन्दू धर्मालम्बीहरु

काठमाडौँ। आज आईतबार कात्तिक कृष्ण औँसीका दिन धनधान्यकी देवी लक्ष्मीको स्तुति गरेर देशभर गाईपुजा मनाउने प्रचलन अनुसार गाईतिहार मनाईदैछ । तिहारको तेस्रो दिन स्थिर लग्न र प्रदोषकालमा लक्ष्मीको आराधना गर्दा फलिफाप हुन्छ भन्ने धार्मिक मान्यता अनसार हिन्दूधर्मालम्बीहरुले दशैंपछिको दास्रो ठूलो चाड शुभदिपावलीको गाईपुजा मान्ने चलन छ । ज्योतिष डा. सुनिल सिटौलाका अनुसार वृष लग्नमा साँझ ६ः११ बजेदेखि ८ः०७ बजेसम्म र सिंह लग्नमा राति १२ः४२ बजे देखि बिहान २ः५८ बजेसम्म प्रदोशकाल रहेको छ । सूर्य अस्ताएपछिको दुई घन्टा २४ मिनेटसम्म स्थिर लग्न रहेको छ भने आइतबार ५ः१७ बजे काठमाडौँमा सूर्यास्त हुनेछ ।

डा। सिटौलाका अनुसार अँध्यारो स्थानमा दीपावली गर्दा यो दिन लक्ष्मी प्रसन्न भई धनधान्यपूर्ण बनाउँछिन् । यो दिन कुनै नराम्रो कार्य गर्दा वर्षैभरि पिर्ने योग रहेको दिन पनि हो । यसै दिन गाईलाई लक्ष्मी मानेर गाईपूजा गर्ने र जनैपूर्णिमाका दिन हातमा बाँधिएको डोरो गाईको पुच्छरमा बाँधेर मृत्युपछि बैतरणी तर्ने मनोकाङ्क्षा राखिन्छ ।
लगनखेलको महालक्ष्मी स्थान, धर्मपथमा रहेको लक्ष्मी मन्दिर, तनहुँको बन्दीपुरमा रहेको महालक्ष्मी र भक्तपुरको पाँचतले मन्दिरमा रहेकी सिद्धिलक्ष्मीमा मेला लाग्छ । गोरखापत्रका अनुसार महाशिवरात्रि, कृष्णजन्माष्टमीको मोहरात्रि, बडा दसैँको कालरात्रि र लक्ष्मीपूजाको सुखरात्रि गरी यी चार रात्रिको निकै महिमा छ । यसै दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मदिन परेकाले यो दिन स्वदेश तथा विदेशमा लक्ष्मीजयन्ती पनि मनाइन्छ ।