ब्रेकिङ न्युज

रास्वपा महाधिवेशनपछि अमरेश असन्तुष्ट, संघीयताको पक्षमा खुलेर उभिए

११  असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम महाधिवेशनबाट प्रदेश सभा खारेज गर्ने नीति पारित गरेपछि सोही पार्टीका सांसद डा. अमरेशकुमार सिंह ले सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन्। उनले लोकतन्त्र, संघीयता र समावेशितामाथि कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने भन्दै कडा चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद सिंहले नेपालको लोकतान्त्रिक व्यवस्था, संघीय शासन प्रणाली र समावेशी संरचना जनताको संघर्षबाट स्थापित भएको उल्लेख गरेका छन्। उनले यी उपलब्धिमाथि कुनै प्रकारको आघात पुर्‍याउने प्रयास भए त्यसको सशक्त प्रतिरोध हुने बताएका छन्।

जनकपुरधामबाट सन्देश जारी गर्दै सिंहले लोकतन्त्र, संघीयता र समावेशितासँग छेडखानी गर्ने जोसुकैले पनि जनताको विरोध सामना गर्नुपर्ने बताएका छन्। उनका अनुसार नेपाली जनताको प्राथमिकता अहिले राजनीतिक संरचना भत्काउनेभन्दा पनि सुशासन, विकास र समृद्धि हो।

उनले राजनीतिक दल र जनप्रतिनिधिहरूले जनताको अपेक्षा पूरा गर्न ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखेका छन्। साथै, जनताको हित र अधिकारको पक्षमा आफू सधैं उभिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

रास्वपाले हालै सम्पन्न प्रथम महाधिवेशनबाट प्रदेश सभा खारेज गर्ने नीति दस्तावेज पारित गरेपछि त्यसबारे राजनीतिक बहस तीव्र बनेको छ। यता, पार्टी र सरकारका गतिविधिबारे पटक–पटक फरक धारणा राख्दै आएका सिंह महाधिवेशनमा समेत सहभागी भएका थिएनन्।