राजनीति

संविधानले तोकेको समयभित्रै निर्वाचन हुन्छः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले निर्धारण गरेको समयभित्रै देशको तीनवटै संरचनाको निर्वाचन सम्पन्न हुने बताएका छन् ।

नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आज यहाँ आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उनले निर्वाचन हुन्न कि भनेर शङ्का नगर्न आग्रह गरे ।

प्रदेश र संसद्को निर्वाचन गर्न पनि स्थानीय निकायको निर्वाचन छिटो गर्नुपर्ने चर्चा गर्दै उनले सभापति देउवाले भने, “संविधानले निर्धारण गरेको समय सीमाभित्रै स्थानीय निकाय, प्रदेश र संसद् एवम् प्रतिनिधिसभाको निर्वाचन हुन्छ, यसमा कसैले शङ्का गर्नुपर्दैन, यो जिम्मेवारीलाई नेपाली कांग्रेसले पूरा गर्छ ।”

उनले संविधान संशोधन गरेर मधेसवादी दललाई सहमतिमा ल्याउने तयारीमा वर्तमान गठबन्धन लागेको बताउँदै एमालेलगायतका दलले कांग्रेसको बारेमा छरेको भ्रम मेटाउन कांग्रेस लाग्नुपर्ने बताए ।

देशको सम्बृद्धिका लागि सबै निर्वाचनमा नेपाली कांग्रेसको बहुमत आउनुपर्ने दाबी गर्दै उनले निर्वाचनको तयारीमा जुट्न कांग्रेस कार्यकर्तालाई निर्देशन दिए ।

कार्यक्रममा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले वर्तमान सरकारको परराष्ट्र नीतिमा कुनै कमजोरी नगरेको स्पष्ट पार्दै उनले विगतका सरकारले गरेका सन्धि र सम्झौतालाई कार्यान्वयन गर्न तयार रहेको बताए ।

त्यस अवसरमा सांसद् मनमोहन भट्टराई, नेपाली कांग्रेस भक्तपुर सभापति दुर्लभ थापा, नेवि सङ्घका अध्यक्ष नैनसिंह महर, नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं–१ का सभापति जीवन खत्री, क्षेत्र नं–२ का सभापति नारायणभक्त खायमलीलगायतले संविधान कार्यान्वयन गराउनेतर्फ कांग्रेसले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।