समाचार

सवारी चलाउने र सवारीधनी दुवैलाई यसरी कारबाही गर्दै ट्राफिक प्रहरी !

लमजुङ । सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले दुईथरिलाई कारबाही सुरु गरेको छ।
नियम विपरीत सवारी चलाउने र सवारीधनी दुवैलाई कारबाही सुरु गरिएको हो। चालक अनुमतिपत्र नभएकाहरुले सवारी चलाएको भेटिएमा मात्र कारबाही गर्दै आएको प्रहरीले चालक अनुमतिपत्र नभएका व्यक्ति र सवारीधनी दुवैलाई कारबाही गर्न थालेको हो।
चलाउने भन्दा पनि अनुमतिपत्र नभएकालाई सवारी दिनेको लापरबाही भएको छ भन्दै सवारीधनीलाई पनि जरिवाना लिइएको ट्राफिक प्रहरी हबल्दार भूमिराज घिमिरेले बताए।
उनका अनुसार चालक र सवारीधनी दुवैबाट एकरएक हजार जरिवाना लिने गरिएको छ। चालक अनुमतिपत्र नभएका एउटै व्यक्ति धेरै पटक कारबाहीमा पर्दा समेत सुधार नभएपछि सवारीधनीलाई कारबाही सुरु गरिएको हो।
सवारीधनीलाई नै कारबाही गर्न थालिएपछि चालक अनुमतिपत्र नभई सवारी चलाउनेहरुको सङ्ख्यामा कमी आउने विश्वास ट्राफिक प्रहरी अच्युत विष्टले व्यक्त गरे। रासस