पु.समाचार

पुनःसंरचनाको विरोधमा र्‍याली र धर्ना

सोलुखुम्बु । सोलुखुम्बुको नेचाबेतघारी र नेचाबतासेका बासिन्दाले स्थानीय निकायको पुनःसंरचना आफूहरूको भावनाविपरीत भएको भन्दै र्‍यालीसहित बजार परिक्रमा गरेर जिल्ला विकास समिति सोलुखुम्बुमा बुधबार धर्ना दिएका छन्।

उनीहरूले ती दुई गाविसका एक हजारभन्दा बढी मानिसको हस्ताक्षरसमेत जिविसमा बुझाएका छन्। गाउँपालिका बनाउँदा नेचाबतासे, नेचाबेतघारी र पञ्चन गाविसलाई गाभेर एउटा गाउँपालिका बनाउनुपर्ने र त्यसको केन्द्र नेचाबेतघारीमा रहनुपर्ने आफूहरुको माग रहेको भए पनि प्राविधिक समितिले पञ्चनलाई अन्यत्र लगेर तिंला गाविस मिसाई सल्यानमा केन्द्र राखेको उनीहरुको भनाइ छ।

ठूलो सङ्ख्यामा कालो झन्डासहित आएका त्यहाँका बासिन्दाले सिफारिस गरिएको निर्णय नसच्याउन्जेल जिविसअघि धर्ना बस्ने सो टोलीको नेतृत्व गरिरहेका नेकपा ९एमाले० सोलुखुम्बुका जिल्ला सदस्य जगनाथ बास्तोलाले बताए।
यस्तै, नेपाली कांग्रेस सोलुखुम्बुले पनि बुधबार विज्ञप्ति जारी गर्दै नेचाबासीको माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएको छ।

यसैगरी, आफूहरुलाई दूधकुण्ड नगरपालिकामा मिलाएर भौगोलिकरुपमा निकै कष्ट उत्पन्न गराएको भन्दै जिल्लाको केरुङ, टाप्टिङ र गोराखानीका बासिन्दाले पनि विरोध गरेका छन्। सिफारिस गरिएको संरचनामा चित्त नबुझेकाले मागपत्र बुझाएको र त्यसलाई जस्ताको तस्तै आयोगमा पठाउने प्राविधिक समितिका सदस्य एवम् जिविस सोलुखुम्बुका योजना, अनुगमन तथा प्रशासकीय अधिकृत चन्द्रबहादुर कार्कीले जानकारी दिए।
जिविसले गत सोमबार एक नगरपालिकासहित आठवटा स्थानीय निकाय रहने गरी खाका पुनःसंरचना आयोगमा पठाएको थियो। रासस