पु.समाचार

चोरीको आरोपमा यसरी चारजना पक्राउ परे !

बनेपा । नेपाल विद्युत् प्राधिकरण बनेपा शाखाले विद्युत् चोरी गरेको आरोपमा चारजनालाई पक्राउ गरेको छ ।

प्रहरीसहितको विद्युत् चुहावट नियन्त्रण टोलीले विभिन्न विद्युतीय सामानसहित उनीहरुलाई बिहीबार काभ्रेपलाञ्चोकको देउपुर क्षेत्रबाट पक्राउ गरिएको शाखा प्रमुख नवलकिशोर गोइतले जानकारी दिए ।
पक्राउ पर्नेमा देउपुरका ३० वर्षीय बलराम खड्का, सोही ठाउँका अर्जुन विक, कमल चौलागाईं र अर्जुन ढकाल रहेका छन् । उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरी कार्यालयमा ल्याइएको छ । उनीहरुबाट फ्रिज, मोर्टर, टिभीलगायतका सामानसमेत बरामद गरिएको छ ।
पक्राउ परेकाले प्रयोग गरेको विद्युत् भार पहिचान भएपछि उनीहरुलाई जरिवाना तिराइने उनले बताए ।
शाखा प्रमुख गोइतले जिल्लाभर विद्युत् चुहावटका लागि प्रहरीसहित विद्युत्का कर्मचारी परिचालन भएको जानकारी दिँदै निगरानी बढाउने र विद्युत् चुहावटमा संलग्नलाई पक्राउ गर्ने योजना भएको बताए।
यसैबीच काठमाडौँ विश्वविद्यालय उपकुलपतिको कार्यकक्षमा भएको तोडफोडमा संलग्न भएको आरोपमा एकजनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
काठमाडौँमा अस्थायी बसोबास गर्ने अर्घाखाँची, ठाडा गाविस–७ बस्ने सुशील खनाललाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको जनाएको छ । रासस