राजनीति

प्रधानमन्त्री दाहालद्वारा सचिबहरुलाई कडा निर्देशन

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेपाल सरकारका मुख्यसचिव सोमलाल सुदेवीसहित विभिन्न मन्त्रालयका सचिवलाई बोलाई सरकारको प्राथमिकता र जनजीविकाका सवालमा परिणाममूलक काम गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री दाहालले भूकम्पपछिको पुनःनिर्माणलगायतका काममा यसअघि आफूले दिएका निर्देशनको सन्तोषजनक पालना नभएको भन्दै आज कडा निर्देशन दिएका हुन् ।

यसअघि उनले गत साउन २३ गते सरकारको बजेट, नीति तथा कार्यक्रमलाई ध्यानमा राखेर तत्कालीन सुधारका कार्ययोजना ल्याउन निर्देशन दिएका थिए । सरकारले संविधानको कार्यान्वयन, पुनःनिर्माण, निर्वाचनसम्बन्धी कानुन निर्माणलगायतमा प्राथमिकता दिँदै आएको छ ।

प्रधानमन्त्री दाहालका प्रशासकीय सल्लाहकार नारायण दाहालले परिणाममूलक कामका लागि तत्काल कदम चाल्न कडा निर्देशन दिएको बताए । “जुन ढंगले काम हुनुपर्थ्यो, त्यो रुपमा भएन । यसका लागि मेरो कार्यालयबाट के सहयोग चाहिन्छ त्यो गरिन्छ । तर सन्तोषजनक रुपमा काम हुनुपर्छ,” प्रधानमन्त्री दाहाललाई उद्धृत गर्दै उनले भने । आफ्ना निर्देशन पालनाबारे प्रधानमन्त्री कार्यालयबाट अनुगमनसमेत गरिने प्रधानमन्त्रीले बताएका थिए ।

प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्रीमा नियुक्त भएको ४५ दिनभित्र भूकम्पपीडितको निजी आवास निर्माणको अनुदान पीडितको हातमा पुर्‍याउन र तीन महिनाभित्र ग्रामीण भेगमा चिकित्सक पठाई सेवा दिन निर्देशन दिएका थिए । रासस