पु.समाचार

एडिवी खानेपानी आयोजनाको अनुगमन, लक्ष्य भन्दा ५ प्रतिशत ढिलाई

सुजेन्द्र तामागं/ धरान । धरानमा निर्माणाधीन खानेपानी आयोजनाको आयोजना अनुगमन समितिद्धारा विस्तृत अनुगमन भएको छ । अनुगमनको क्रममा चाडपर्व सकिएपछि जुन रुपले कार्यमा तिव्रता आउनुपर्ने हो त्यो अनुरुप प्रगति नभएको पाइएको छ ।

जनशक्तिको अभाव, नाकावन्दी, हडताल, मन्त्रालय विभाजन, अस्थिर सरकार लगायत विविध कारणले निर्माण लक्ष्य भन्दा ५ प्रतिशत ढिलाई भएको देखिएको छ ।

अनुगमन समितिका संयोजक सुजेन्द्र तामाङले आयोजनालाई निर्धारित समयमा सम्पन्न गर्न तत्काल आयोजनाको निर्माण योजना तथा कार्यतालिका संशोधन गरी सबै साइटमा युद्धस्तरमा निर्माण कार्य अगाडि बढाउन आयोजनाको ध्यानाकर्षण गराइएको बताएकाछन् ।

उनले निर्धारित समयभित्र धरानवासीलाई स्वच्छ खानेपानी दिलाउन आवश्यकता परे अब रातमा पनि काम गर्ने गरी निर्माण योजना बनाउन आयोजनालाई सुझाइएको बताए । अनुगमनका क्रममा जलाधार क्षेत्रको संरक्षण, मुहानको सफाई र सुरक्षामा विशेष ध्यान दिन समेत ध्यानाकर्षण गराइएको उनले बताए ।

आयोजना प्रमुख ई. राजु पोखरेलले आयोजना निर्माणमा केही ढिला भएपनि समयसिमा भित्रै सम्पन्न गर्न तत्पर रहेको बताए । परामर्शदाता अनिल नेपालले दक्ष जनशक्ति मात्र नभई अदक्ष जनशक्ति समेतको अभावका कारण ढिलाई भएको बताए ।

अनुगमन समिति र सल्लाहकार समितिद्धारा गरिएको अनुगमनमा धरान उप–महानगरपालिकाका कार्यकारी अधिकृत तथा धरान खानेपानी व्यवस्थापन वोर्डका अध्यक्ष विष्णु कोइराला, आयोजना प्रमुख ई. राजु पोखरेल, परामर्शदाता अनिल नेपाल, ई. सुरज श्रेष्ठ, अनुगमन समितिका रामकुमार आङवुहाङ, चोत्लुङ, गजेन्द्र इस्वो, मुरारी भट्टराई, शिला बज्रचार्य, सूर्य तामाङ, अनुप देवान, मिन सुनुवार, भवानी वराल, विजय लुङफुङवा र आयोजनामा संलग्न प्राविधिकहरुको समेत सहभागिता रहेको थियो ।

एकिकृत सहरी विकास कार्यक्रम अन्तर्गत एशियाली विकास बैंकको ३५% क्रृण तथा २६% अनुदान, नेपाल सरकारको २४% अनुदान र धरान नगरपालिकाको १५% गरी कूल १ करोड ४८ लाख लगानीमा ठेकेदार टियानजीन तुन्दी जोइन्ट भेन्चरले जुलाई २०१५ बाट आगामी जुलाई २०१७ मा सम्पन्न गर्ने गरी धरानमा खानेपानी आयोजनाको कार्य गरिरहेको छ ।