समाचार

ओझेलमा परेको परोपकारी कार्य !

काठमाडौँ । भारतका महान विचारक स्वामी विवेकानन्दको आदर्शबाट प्रेरित ‘वल्र्ड पिस सेन्टर (अलान्दी)’ अर्थात विश्व शान्ति केन्द्र (अलान्दी) माईर्स एमआइटी पूणे नामक संस्थाले भूकम्पपीडित परिवारलाई सामूहिक आवास निर्माण गरेको छ ।

मानव कल्याणको क्षेत्रमा बृहद् कार्य गरिरहेको यो संस्थाले सम्पूर्ण लागत आफैं लगानी गरेर भूकम्प पीडित परिवारका लागि निर्माण गरिदिएको घरहरु स्थानीय जनतालाई हस्तान्तरण गरिसकेको छ ।

विविध कारणले चर्चामा नरहेपनि एक मानवतावादी संस्थाले राजधानीको तारकेश्वर नगरपालिकामा १ सय २० वटा भूकम्प प्रतिरोधी घर निर्माण गरेर हस्तान्तरण गरेको कार्य आफैमा प्रशंसनीय छ । संस्थाकाअनुसार निर्माणमा प्रति घर ६ लाख खर्च भएको थियो भने सबै घर निर्माण र मर्मत समेत गरी करिब ८ करोड रुपैयाँ खर्च भएको अनुमान छ ।

स्थानीय कमल लामाका अुनसार निर्माण सम्पन्न भएका १ सय २० वटा घरमध्ये नगरपालिकाका वडा नम्बर ९ मा ४५, ११ मा ३३ र १५ मा ४२ घर रहेका छन् । केन्द्रका अनुसार प्रत्येक घर २ सय वर्गफुटका छन् । ट्वाइलेट, बाथरुम, खानेपानी, ढल लगायतको सुविधा सम्पन्न ती घरहरु ३० देखि ४० वर्षसम्म भूकम्प प्रतिरोधी रहने जनाइएको छ । केन्द्रले सो क्रममा तारकेश्वरमा रहेको प्राचीन तारकेश्वर मन्दिरको सुशोभिकरण समेत गरेकोे छ ।
सन् १९९६ मा भारतको पूणेमा भएको वल्र्ड फिलोसपर मिटपश्चात गठन भएको विश्व शान्ति केन्द्रका संस्थापक ‘प्रा.डा.विश्नाथ दा कराड’ हुन् । संस्थाले स्थापनाकालदेखि नै विश्वका विभिन्न स्थापमा प्रकोप-पीडितहरुलाई सहयोग गर्ने लगायतका मानवीय कार्य गर्दै आएका छन् ।

संस्थाका प्रतिनिधिहरुले पूर्व–राष्ट्रपति डा.रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालासँग छलफल गरी सामुहिक वस्ती निर्माणको काम सुरु गरेको तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका स्वकीय सचिव अतुल कोइरालाले जानकारी दिएका छन् । हाल सो वस्तीमा अति विपन्न भूकम्पपीडितहरु बस्दै आएका छन् ।