आर्थिक

नेपाल वायु सेवा निगमले पाउने ११ अर्बमै वाइडबडी

काठमाण्डौ । नेपाल वायु सेवा निगमले ठूलो जहाज (वाइड बडी) खरिदका लागि आह्वान गरेको प्रस्तावमा सबैभन्दा कम मूल्य राख्ने कम्पनीले साढे ११ अर्ब रुपैयाँमा दिलाउने भनेको छ । एयरबसको वाइड बडी (ठूलो आकारको) विमान दिलाउन परेका ११ वटा प्रस्तावमध्ये अमेरिकी कम्पनी एएआर कर्पोरेसनले ११ अर्ब ३५ करोड (१० करोड ४० लाख डलर) का दरमा एयरबसको ए–३३० वाइड बडी विमान उपलब्ध गराउने प्रस्ताव गरेको छ । यीमध्ये सबैभन्दा धेरै दर १७ अर्ब ६० करोड रुपैयाँको प्रस्ताव परेको थियो ।

निगम उच्च स्रोतका अनुसार एएआरले एयरबसको फ्याक्ट्रीमै रहेको विमान उपलब्ध गराउने प्रस्तावमा उल्लेख गरेको छ । ‘एयरबसको कारखानामा पोर्चुगलको हाइफ्लाई एयरलाइन्सले अर्डर गरेका विमानमध्येबाट एएआरले हामीलाई प्रतिजहाज हालको डलर भाउअनुसार ११ अर्ब ३५ करोड रुपैयाँमा उपलब्ध गराउने प्रस्ताव ल्याएको छ,’ उच्च स्रोतले भन्यो, ‘यी विमान सञ्चालनमा आइसकेका छैनन् तर फ्याक्ट्रीमा तयार अवस्थामा रहेको एयरबसको पत्र पनि प्राप्त गरेका छौं ।’

हाइफ्लाईले जर्मनको एभियसन क्यापिटल नामको एउटा वित्तीय संस्थाबाट जहाज खरिद गर्न ऋण लिएको पनि खुल्न आएको छ । तर, आर्थिक अवस्था कमजोर भएका कारण उक्त कम्पनीले जहाज बिक्री गर्न चाहेको देखिन्छ । उक्त कम्पनीले एएआरलाई ती जहाज बिक्री गर्न अनुमति दिएको पत्र पनि प्रस्तावमा राखिएको छ ।

यी प्रस्तावको मूल्यांकन गर्न निगमले इन्जिनियर, पाइलटलगायतका कर्मचारी राखेर ११ सदस्यीय मूल्यांकन समिति गठन गरेको थियो । उक्त समितिले महाप्रबन्धक सुगतरत्न कंसाकारलाई प्रतिवेदन दिनुपर्छ । महाप्रबन्धकले पर्यटन सचिव अध्यक्ष रहेको निगमको सञ्चालक समितिमा प्रतिवेदन पारित गरेपछि मात्रै छनोटमा परेका प्रस्तावकको नाम सार्वजनिक गर्नुपर्ने नियम छ । महाप्रबन्धक कंसाकारले भने सञ्चालक समितिको बैठक नभएसम्म यसबारे सार्वजनिक अभिव्यक्ति दिन नमिल्ने बताए ।

निगमले गत असोज १० मा दुइटा वाइड बडी विमान खरिद गर्न ग्लोबल टेन्डर आह्वान गरेको थियो । उक्त सूचनामा जहाज उत्पादन गर्ने कम्पनी, एयरलाइन्स, एयरक्राफ्ट लिजिङ कम्पनी, एभियसन एजेन्ट र बैंकलाई ४५ दिनभित्रको समय दिई कात्तिक २४ सम्म प्रस्ताव बुझाउन भनिएको थियो । एयरबसकै विमान किटान गर्दै निकालिएको सूचनाले कम्तीमा १ हजार घण्टा उडेका विमान हुनुपर्ने भनेको थियो ।

प्रस्ताव बुझाउन दिइएको समय सीमाभित्र ११ वटा एजेन्टहरूले प्रस्ताव बुझाएका थिए । तीमध्येबाट नेपाली एजेन्ट नै नराखेर प्रस्ताव पेस गरेको एएआरका तर्फबाट दुई जना अमेरिकी काठमाडौं आएका थिए । उनीहरूसँगै दीपक शर्मा नाम गरेका नेपाली मूलका तर बेलायती नागरिक पनि सहभागी थिए । ‘हामीले बुझ्दा ती बेलायती नागरिकता लिइसकेका तर पुर्खाहरू नेपाली नै रहेको बुझ्यौं, जो एएआरमै उच्च तहको व्यवस्थापकीय कर्मचारी हुन्,’ स्रोतले भन्यो । ६१ वर्षअघि स्थापना भएको यो कम्पनी विश्वका २० वटा मुलुकमा फैलिएको छ ।

एएआरसँगै प्रस्ताव हाल्नेमा बुल्गेरियाको केएल एरो पार्टस, बेलायती कम्पनी केजिटे इन्भेस्टमेन्टरवान वल्र्ड कोल्ज आउटस, अमेरिकी बहुराष्ट्रिय कम्पनी रोन मोट्टो, अमेरिकी कम्पनी एयरक्राफ्रट इन्भेस्टमेन्ट ग्रुप, बेलायती ट्रेडिङ कम्पनी क्राउन कमर्सियल सर्भिसेस लिमिटेड, ब्राजिलियाली कम्पनी सिनर्जी एरोस्पेस, फ्रान्सेली कम्पनी ली ग्रुप डेल्टा, रोल्स रोय र सूर्य एयर सपोर्ट थिए । यसपटकको यो प्रतिस्पर्धामा अमेरिकी विमान निर्माता बोइङ छैन । निगमले ग्लोबल टेन्डरमै एयरबसको ३३० सिरिजको विमान भनेर किटानै गरेपछि बोइङ स्वतस् यो प्रतिस्पर्धाबाट बाहिरिएको हो । हाल एयरबसका दुइटा एयरबस ए–३२० सिरिजका विमान उडाउँदै आइरहेको छ ।

एउटै वर्गको विमान उडानरसञ्चालनमा व्ययभारलगायतका खर्च कम हुने भएकाले निगमले यसपटक टेन्डरमा एयरबस नै किटान गरेको थियो । उस्ले कम्तीमा एक हजार घण्टाभन्दा कम उडान भरेको २ सय ५० देखि २ सय ८० सम्म सिट भएको विमान हुनुपर्ने सर्त राखेको थियो भन्दै मंगलबारको कान्तिपुरमा समाचार प्रकाशित छ ।