पु.समाचार

काठमाण्डौ उपत्यकामा हुनुहुन्छ, अब सतर्क रहनुस् है !

काठमाडौ । असरल्ल फोहोरको डंगुर, सवारीसाधन, उद्योग र कलकारखानाले फ्याँक्ने कालो धुवाँ, चौडा गराउने नाममा भत्काएर अलपत्र पारिएका सडकबाट बुङ्बुङ्ती उड्ने धुलोबाट प्रदूषित वायुका कारण दिक्कलाग्दो दैनिकी बनेको उपत्यकावासीको स्वास्थ्यमा समेत घातक असर पर्न थालेको छ । नियन्त्रणका लागि प्रभावकारी कदम नचालिए उपत्यकावासीको मृत्युको पहिलो कारक प्रदूषित वायु नै बन्ने चेतावनी चिकित्सकले दिएका छन् ।

कठ्याङग्रिँदो मौसमसँगै अत्यधिक धुलोधुँवा सामान्य मास्क र चस्माले छेक्न नसक्ने भएको छ भने कपडा, अनुहार, शरीर र कपालसमेत कुरूप बन्दै गएको छ । धोएको कपडासमेत सफा लगाउने मौका कमैले पाउन थालेका छन् । धुवाँधुलोले अनावश्यक पानी र साबुनसमेत खर्च गर्न बाध्य अधिकांशको समय सडकमा पानी छ्याप्न, पसल वा घरका सामग्रीमा टाँसिएको धुलो पुछ्नै बित्न थालेको छ । महत्वपूर्ण काम गर्न नपाउँदा तनावग्रस्त बन्न थालेको छ उनीहरूको जीवन । तनावसँगै अनेकौं घातक रोग देखापर्न थालेका छन् ।

धुवाँधुलोका कारण अत्यधिक प्रदूषित कार्बनले बटुवामात्र होइन, घरमै बस्नेमा पनि रुघाखोकी, एलर्जी, दिक्दारी, कामको लगावमा कमी, थकाइ लाग्ने, अनुहारमा दाग आउने, कालोपोतो र डन्डीफोर आउने, कपाल सुक्खा हुने र झर्ने, छाला फुस्रो हुनेलगायत समस्याबाट ग्रसित हुनु नियति नै बनिसकेको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ प्राध्यापक डा.करवीरनाथ योगी उपत्यकाको धुवाँधुलोले मानिसको सौन्दर्यसँगै स्वास्थ्यमा समेत घातक असर पारेको र यसले धेरैको ज्यान लिने क्रम बढेको बताउँछन् ।

उनका अनुसार चिसोयाममा धुलोका कण वातावरणमै रहने र त्यो विभिन्न माध्यमबाट मानिसले खाँदा फोक्सोमा पुगी अनेकौं किमिसका असर उत्पन्न भएर जाँचका लागि आउने बिरामीको संख्या निकै बढेको छ ।

‘सडक चौडा गराउँदा, भूकम्पले घर भत्काउँदा तथा त्यसको उत्खनन गर्दा निस्किएको धुलो, थोत्रा सवारीसाधनले फालेको धुवाँले प्रदूषित बनेको हावा कुनैकुनै माध्यमबाट खाँदा उत्पन्न अनेक जटिलता लिएर अस्पताल आउने बिरामीको संख्या विकराल छ’, डा।योगीले भने, ‘धुलोधुवाँ नियन्त्रणका लागि प्रभावकारी उपाय अपनाउन सकिएन भने यसैको जटिलताबाट ज्यान गुमाउनेको संख्या भयानक हुनेछ ।’ शनिबारको अन्नपूर्ण पोस्टमा समाचार प्रकाशित छ ।