मनोरञ्जन

नारायणगोपाल युवा सङ्गीत र अरनिको युवा कला पुरस्कार घोषणा

काठमाडौँ । नारायणगोपाल युवा सङ्गीत पुरस्कार यस वर्षका लागि युवा गायिका निशा देशार (ललितपुर) र युवा सङ्गीतकार सन्तोष श्रेष्ठ (दाङ) लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

विविध सांङ्गीतिक विधामा निरन्तर सक्रिय रहँदै सङ्गीत, गायनका कलात्मकता एवम् सिर्जनशीलताको श्रीवृद्धिमा मुलुकको मौलिक, साँस्कृतिक, सांङ्गीतिक प्रवृत्तिमा प्रतिबद्ध रही योगदान पु¥याउने ४० वर्ष ननाघेका युवा गायक तथा सङ्गीतकारलाई प्रोत्साहन दिन स्वरसम्राट् नारायणगोपालको स्मृतिमा सो पुरस्कार २०४८ सालमा स्थापना भएको हो ।

उक्त निर्णय नारायणगोपाल युवा सङ्गीत पुरस्कार छनोट समितिका अध्यक्ष दीपक जङ्गमको अध्यक्षतामा यही पुस १३ गते बसेको बैठकले गरेको राष्ट्रिय युवा सेवा कोषले जनाएको छ । पुरस्कारको राशि ५० हजार र स्वर्णपदक छ ।

यसैगरी कोषद्वारा राष्ट्रिय विभूति अरनिकोको स्मृति एवम् सम्मानका साथै कलाको संरक्षण र विकासमा प्रोत्साहन गर्न विसं २०५७ मा स्थापित ‘अरनिको युवा कला पुरस्कार’ यस वर्षका लागि युवा कलाकारद्वय ज्योतिप्रकाश विश्वकर्मा (नवलपरासी) र पृथ्वी श्रेष्ठ (ललितपुर) लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

सो निर्णय अरनिको युवा कला पुरस्कार छनोट समितिका अध्यक्ष ठाकुरप्रसाद मैनालीको अध्यक्षतामा पुस १३ गते बसेको बैठकले गरेको हो । पुरस्कारको राशि ५० हजार र स्वर्णपदक छ । रासस