पु.समाचार

स्व.राजा वीरेन्द्रले लिएको सुरक्षा रणनीतिबारे कमल थापा र रुक्माङ्गद कट्वालले खोले यस्तो रहस्य !

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तत्कालीन राजा वीरेन्द्रले राज्याभिषेकका क्रममा विश्व समुदायसामु नेपाललाई शान्ति क्षेत्र घोषणाका लागि राखेको प्रस्ताव राष्ट्रको सुरक्षाका लागि महत्वपूर्ण कूटनीतिक प्रयास भएको बताएका छन् ।

स्व।राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको  बिहीबार उद्घाटन गर्दै अध्यक्ष थापाले सो प्रस्तावको विश्वका ११६ राष्ट्रले समर्थन जनाएको र त्यसले मुलुकको राजनीतिमा दीर्घकालसम्म प्रभाव पारेको भए पनि पछिल्लो समयमा आएको उतारचढावले सो विषय अहिले ओझेलमा परेको बताए ।

उनले भने, “राजा वीरेन्द्रले देशको समृद्धिका लागि क्षेत्रीय विकासको अवधारणा ल्याएको हो । जनमत सङ्ग्रहको अभ्यास अर्को उदाहरण हो ।”

पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवालले मुलुकको भू–राजनीतिक अवस्थालाई बुझेर तत्कालीन राजाले दुवै छिमेकी राष्ट्रसँग सन्तुलित विदेश नीति अपनाएको स्मरण गरे ।

इतिहासविद् डा सुरेन्द्र केसीले मुलुकको विकासमा राजसंस्थाले पु¥याएको योगदानको सराहना गर्नुपर्ने विचार व्यक्त गर्दै देशमा शिक्षाको पहुँच विस्तार गर्ने कार्यमा राजा वीरेन्द्रको उल्लेख्य योगदान रहेको बताए ।

पूर्वउपरथी टीका धमला, समाजसेवी भरत बस्नेतलगायतले देशको स्वाभिमान र अविभाज्यतालाई कायम राख्न राजा वीरेन्द्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा विभिन्न समयमा गरेका प्रयासका बारेमा चर्चा गरेका थिए ।