ब्रेकिङ न्युज

सांसदलाई स्वकीय सचिव दिने बालेन सरकारको निर्णय विरुद्ध प्रदर्शन

९ साउन, काठमाडौं । प्रतिनिधि सभाका सदस्यहरूले फेरि स्वकीय सचिव राख्न पाउने भएका छन् ।

सुशीला कार्की नेतृत्वको सरकारको निर्णय उल्टाउदै बालेन नेतृत्वको सरकारले पुरानै व्यवस्थालाई कायम गर्ने निर्णय गरेको हो ।

सरकारको यो निर्णयको समर्थनसंगै बिरोध पनि भइरहेको छ । यसै क्रममा बालेन सरकारको निर्णयको विरोधमा आज काठमाडौंमा प्रदर्शन गरिएको छ।

राष्ट्रिय जेनजी नागरिक अभियानको अगुवाइमा आज काठमाडौँको माईतीघर मण्डलमा प्रदर्शन गरिएको हो।

प्रदर्शनमा उत्रिएका युवाले राज्यकोषको दुरुपयोग गरी विलासिता बढाउन लागिएको भन्दै सरकार र संसद्को ध्यानाकर्षण गराएका छन्।

सांसदलाई राजधानी केन्द्रित विलासितामा मात्र नभई दुर्गम पहाडी र हिमाली जिल्लाको वस्तुस्थिति बुझ्न र त्यहाँको सेवा प्रवाहमा केन्द्रित हुन अभियानले आग्रह गरेको छ।

पछिल्लो समय सांसदहरूले एकभन्दा बढी स्वकीय सचिव राख्न पाउनुपर्ने माग गरिरहेको र कतिपयले अनौपचारिक रूपमा कर्मचारी नियुक्तिको प्रक्रिया सुरु गरेको भन्दै युवाले विरोधमा उत्रिएका हुन्। सरकारले सांसदलाई अतिरिक्त सुविधा उपलब्ध गराएर राज्यमाथि थप आर्थिक भार सिर्जना गरेको उनीहरूको भनाइ छ।

यो कदम सुशासनको सिद्धान्त र जेनजी आन्दोलनको मूल मर्म एवं भावनाविपरित रहेको उनीहरूले बताएका छन्।

यो निर्णय तत्काल खारेज गर्न माग गर्दै सांसदका लागि विनियोजन गरिएको सो रकम शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्न सरकारको ध्यानाकर्षण गराएको छ।