खेलकुद

एकताकलीलाई सुन्दरीको ताज, शुक्रबार हात्ती दौड, हात्तीपोलो र छावाबीच फुटबल खेल हुने

चितवन । ओँठमा लाली छ, नङमा पालिस । खुट्टामा रङकै पाउजु । सलक्क परेको शरीरमा विभिन्न आकृतिका फूलका बुट्टा । विभिन्न रङ्ग भरेर नङ आकर्षक पारिएको छ । अनुहारमा देखिएको पुत्ला पनि मनै लोभिने । क्याटवाक हेर्दै उपाधि जित्ने खालकी देखिएकी ३० वर्षकी एकताकली नभन्दै सुन्दरीको ताज पहिरिन सफल भइन् ।

दुःख गरेरै सुन्दरी बनाएर ल्याएको बताउने उनका माहुत जेवरलाल पासवान भन्छन्, “नभन्दै जित्यो, खुसी छु ।”

निर्णायक डा.कमल गैंरे, किरण रिजाल र परमानन्द गर्गले भनेका कुरा एकताले काटिनन् । बसाउँदा समेत सजिलै बसिन् भने भुइँमा झरेको लठ्ठी टिप्नदेखि दर्शकलाई नमस्कार गर्नसमेत एकताले सहजै मानिन् । सबै कुराले ‘परफेक्ट’ हुँदा एकताले ‘ब्युटी’को ताज उचालेकी निर्णायक सदस्य किरण रिजालले बताए । उनले ८३ अङ्क प्राप्त गरिन् ।

चितवनको सौराहामा जारी हात्ती महोत्सवका क्रममा बिहीबार भएको हात्ती सुन्दरी प्रतियोगितामा पाँच हात्तीलाई उछिन्दै एकताकलीले सुन्दरीको ताज पहिरिएकी हुन् । सुन्दरी प्रतियोगितामा १५ वर्षकी पुष्पाकली ७३ अङ्कको साथमा फस्ट रनरअप भइन् भने ११ वर्षकी सेल्फीकली ६९ अङ्कका साथ सेकेन्ड रनरअफमै चित्त बुझाइन् ।

एलिसा र बिजुलीकली भने पहिलो चरणबाटै बाहिरिएकी सुन्दरी प्रतियोगिता उपसमितिका संयोजक दामोदर रेग्मीले बताए । सेल्फीका लागि पहिलो अनुभव हो भने अन्य दुई हात्ती विगतमा पनि सहभागि थिए । अहिले उनीहरु हात्ती दौड र पोलोमा पनि सहभागी छन् ।

निर्णायक संयोजक डा.कमल गैरे हात्तीको क्याटवाक, हाउभाउ, बानीबेहोरा, घाउ छ कि छैन, माहुतले भनेको कति मान्छ सबै कुरालाई मूल्याङ्कन गरेर सुन्दरी छनोट गरिएको बताउँछन् । हात्ती शृङ्गारतर्फ पुनमकलीले बाजी मारेकी छिन् । सुन्दरकली र पिङ्कीकलीलाई पछि पार्दै पुनमले शृङ्गारको उपाधि जितिन् । हात्तीका माहुतले हात्तीमा बुट्टा भरेर आकर्षक बनाएपछि पुनम विजेता बनेकी शृङ्गार कार्यक्रम संयोजक योगेश अधिकारीले जानकारी दिनुभयो ।

शुक्रबार सकिने महोत्सवअन्तर्गत फाइनल चरणको हात्ती दौड, हात्तीपोलो र छावाबीच फुटबल खेल हुने क्षेत्रीय होटल सङ्घका महासचिव राममणि खनालले जानकारी दिए । रासस