पु.समाचार

विशेष सुरक्षा योजनाबारे प्रहरी महानिरीक्षकको यस्तो टिप्पणी

लुम्बिनी । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले भैरहवा क्षेत्रका लागि तत्कालै विशेष सुरक्षा योजना बनाउने बताएका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ भैरहवाले बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा औद्योगिक तथा पर्यटकीय केन्द्र भैरहवामा आपराधिक क्रियाकलाप बढेकाले आउँदो एक हप्ताभित्र विशेष सुरक्षा योजना तयार गरी लागू गरिने जानकारी दिए ।

रुपन्देहीमा आपराधिक घटना बढेको निष्कर्ष निकाल्दै महानिरीक्षक अर्यालले आपराधिक क्रियाकलाप निरुत्साहित पार्न र आपराधिक क्रियाकलापमा संलग्नलाई कानुनी दायरमा ल्याउन पनि सुरक्षा योजनाले सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

उनले विशेष सुरक्षा योजनाको खाका तयार गर्न लुम्बिनी अञ्चल प्रहरी वरिष्ठ उपरीक्षक शेरबहादुर बस्नेतलाई निर्देशन दिएका छन् ।

कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी तथा पत्रकारले जिल्लामा शान्तिसुरक्षाको अवस्था अत्यन्तै बिग्रदै गएको गुनासो गरेका थिए । व्यवसायीको गुनासोलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले बिग्रिएको रुपन्देहीको शान्तिसुरक्षालाई यथास्थितिमा ल्याउने उल्लेख गर्दै जिल्लामा पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउने बताए ।

उनले आम नागरिकका लागि शान्ति र सुव्यवस्था कायम गर्न नेपाल प्रहरी जहिले पनि कटिबद्ध रहेको उल्लेख गर्दै सल्बलाउन खोजेको आपराधिक गिरोहको टाउको पूर्ण रुपमा निमोठेरै छाड्ने बताए ।

उनले उद्योगी कुलप्रसाद न्यौपानेलाई गोली हान्ने, उद्योगी एवम् युवा सङ्घ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीका हत्यारा र एसएमएसबाट धम्काउनेको खोजी कार्य तीव्र गतिमा अगाडि बढेको र केही दिनमै उनीहरुलाई सार्वजनिक गरिने जानकारी पनि दिए ।