समाचार

कर्णाली क्षेत्रमा अत्याधिक जाडो बढ्यो

जुम्ला । कर्णाली क्षेत्रका पाँच जिल्लामा कालीकोटका माथिल्लो भेकसहित हुम्ला, मुगु, डोल्पा र जुम्लामा बढ्दै गएको अत्यधिक जाडोका कारण जनजीवन कष्टकर बन्दै गएको छ । मङ्सिर १५ देखि पुस १५ गतेसम्म हिमपात भइसक्नुपर्ने मौसमी अनुमान गरिए पनि हिउँ पर्न सकेको छैन, तर जाडो अत्यधिक बढिरहेको छ ।

हावापानी फिल्ड कार्यालय जुम्लाका कार्यालय प्रमुख एपी चौरसियाका अनुसार जाडोले जुम्लाको न्यूनतम तापक्रम माइनस ५.५ डिग्री सेन्टिग्रेडसम्म पुगेको छ । यही पुस १५ गतेसम्म हिउँपर्ने भनिए पनि जलवायुका कारण ढिलो भएको र अब जनवरी पहिलो सातासम्म हिमपात हुने अनुमान गरिएको कार्यालय प्रमुख चौरसियाले बताए । जाडोले गर्दा यहाँका नागरिकको विशेषतः बिहान र बेलुकाको जनजीवन निकै कष्टकर बन्दै गएको छ ।

जाडोको बढी प्रभाव यहाँका ज्येष्ठ नागरिक, अशक्त अपाङ्ग, महिला, बालबालिका र गरिब परिवारमा परेको छ । जाडोले दम, निमोनिया, रुघाखोकीका बिरामी पनि बढ्दै गएका छन् । यो समस्या अहिले कर्णालीभरि नै छ । हुनेखानेहरुबाट व्यापार व्यवसायीलाई कमाइ राम्रै भए पनि गरिबका लागि यो मौसम ज्यानमारा बन्दै गएको कुडारी–४ का स्थानीय कालो कामीले दुखेसो पोखे ।

न्यून तापक्रमका कारण अफसेट, प्रिन्टर, फ्याक्स, फोटोकपी मेसिनले सहजै काम गर्न छाडेका छन् । धारा भाँचिने, पाइप फुट्ने, समस्याले गर्दा खानेपानीको सङ्कट पर्दै गएको चन्दननाथ–७ का स्थानीयवासी सम्झना महतले बताए ।

हिमपात नहुँदा हिउँदेबाली सुक्दै गएको कुडारी–३ का स्थानीय कृषक नरबहादुर रावतले बताए । पुस दोस्रो सातासम्म पनि हिमपात नहुँदा स्थानीय किसान चिन्तित हुँदै गएका छन् ।