समाचार

धरानवासीको सपना पुरा हुन लाग्यो, खानेपानी आयोजनाबारे छलफल

सुनसरी । धरानमा निर्माणाधीन खानेपानी आयोजनाको सम्बन्धमा विस्तृत रुपमा समीक्षा गरिएको छ । सांसद कृष्णकुमार राईको आतिथ्यामा सो समिक्षा सम्पन्न भएको हो ।  सांसद राईले समिक्षा बैठकमा बोल्दै धरानका जनताले जसरी पनि खानेपानी खान पाउनुपर्ने कुरामा जोड दिए ।

चाडपर्व, जनशक्तिको अभाव, नाकावन्दी, हडताल, मन्त्रालय विभाजन, अस्थिर सरकार, बजेट निकासा लगायत विविध कारणले ५६ प्रतिशत मात्र कार्य सम्पन्न भएको छ । यो निर्माण लक्ष्य भन्दा ५ प्रतिशतले कमी हो ।

अनुगमन समितिका संयोजक सुजेन्द्र तामाङले आयोजनालाई निर्धारित समयमा सम्पन्न गर्न तत्काल आयोजनाको निर्माण योजना तथा कार्यतालिका परिमार्जन गरी सबै साइटमा युद्धस्तरमा निर्माण कार्य अगाडि बढाउनुपर्ने बताए । परामर्शदाता इन्जिनियर अनिल नेपालले सिनियर जनशक्ति थप गरी आयोजनाको ५ वटै सिस्टममा समानान्तर ढंगले कार्य गर्नुपर्ने बताए । कार्यकारी अधिकृत तथा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष विष्णु कोइरालाले ठेकेदार र आयोजनाले कुनैपनि वहानामा काममा ढिलाई गर्न नहुने भन्दै बजेट व्यवस्थापनका लागि आफु तयार रहेको बताए ।

अनुगमन समितिका रामकुमार आङवुहाङ, ताजृुव लिम्वु, अनुप देवान, एकराज कोइराला, चोत्लुङ, केशव घिमिरे, प्रदिप भण्डारी, प्रभु श्रेष्ठ, मुरारी भट्टराई लगायतले गुणस्तरीयता, जलाधार क्षेत्रको संरक्षण, बोर्ड विस्तार, ११ बुंदे सम्झौता, लगायतको विषयमा समेत ध्यान दिनुपर्ने बताए ।

आयोजना प्रमुख राजु पोखरेल र निर्माण व्यावसायी निर्वाण गौलीले विभिन्न कारणवश आयोजना निर्माणमा केही ढिला भएपनि समयसिमा भित्रै सम्पन्न गर्न तत्पर रहेको बताए । समिक्षा कार्यक्रमको सहजिकरण धरान उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर तथा अनुगमन समितिका सदस्यसचिव सुरज श्रेष्ठले गरेका थिए ।

एकिकृत सहरी विकास कार्यक्रम अन्तर्गत एशियाली विकास बैंकको ३५% क्रृण तथा २६% अनुदान, नेपाल सरकारको २४% अनुदान र धरान नगरपालिकाको १५% गरी कूल १ करोड ४८ लाख लगानीमा ठेकेदार टियानजीन तुन्दी जोइन्ट भेन्चरले जुलाई २०१५ बाट आगामी जुलाई २०१७ मा सम्पन्न गर्ने गरी धरानमा खानेपानी आयोजनाको कार्य गरिरहेको छ ।