पु.समाचार

यी हुन् भारतमा भएको जिप दुर्घटनामा पर्ने नेपालीहरु

बैतडी – भारत उत्तराखण्डको लोहाघाटमा जिप दुर्घटना हुँदा चार नेपालीसहित ६ जनाको मृत्यु भएको छ । मृत्यु हुने चार नेपाली एकै परिवारका हुन् । दुर्घटनामा १० जना घाइते भएका छन् । आइतबार दिउँसो ३ बजेतिर दुर्घटना भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार लोहाघाटबाट मगलक जाँदै गरेको जिप रौलगाउँनजिकको भीरबाट खसेको हो । बैतडी सर्माली–२ दुबलाका ६२ वर्षीय गोविन्द साउद, उनकी भाइबुहारी ५७ वर्षीया गोमतीदेवी, भाइ ५४ वर्षीय वासुदेव र पाँच वर्षीय आयुषको मृत्यु भएको हो । तीनजनाको घटनास्थलमै र गोमतीको उपचारका क्रममा मृत्यु भएको बैतडी नागार्जुन मावि सर्मालीका प्रधानाध्यापक महामलसिंह साउदले जानकारी दिए ।

घाइतेमध्ये ६ जना नेपाली जिपमा १६ यात्रु थिए । १० घाइतेमध्ये ६ जना नेपाली रहेको बताइएको छ । कञ्चनुपरको दोधाराचाँदनी बस्दै आएका मृतक परिवारका आठजना पूजापाठका लागि गाउँ आउँदा दुर्घटनामा परेका हुन् ।

घाइते हुनेमा साउद परिवारकै चारजना, शर्माली–५ कोणका चन्द्रसिंह साउद र पञ्चेश्वरका एकजना रहेका छन् । उनीहरूको हल्दानी र सामुदायिक स्वास्थ्य केन्द्र लोहाघाटमा उपचार भइरहेको छ ।

तीव्र गतिको जिप मोडमा अनियन्त्रित भएर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बैतडीको दक्षिणी क्षेत्रका बासिन्दाले आफ्नो घर आउजाउ गर्न भारतीय बाटो प्रयोग गर्दै आएका छन् ।

मंगलबारको नयाँ पत्रिकाले लेखेको छ, यातायातको पहुँच पुग्न नसक्दा सीमा क्षेत्रका बासिन्दाले भारतको बाटोबाट ओहोरदोहोर गर्ने गरेका हुन् । सीमा नदी महाकालीमा डुंगाको सहायताले दैनिक उपभोग्य सामग्री ढुवानी गरिँदै आएको छ । नदीमा पानीको बहाव बढी हुँदा बर्सेनि धेरैले डुंगा पल्टेर ज्यान गुमाउँदै आएका छन् ।