खेलकुद

शनिबारदेखि भेट्रान फुटबल प्रतियोगिता सुरु हुँदै

काठमाण्डौ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा प्रथम मदन स्पोर्ट्स कप नाइन ए साइड भेट्रान नक आउट फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ ।

एकेडेमीको आठौं स्थापना दिवसको उपलक्ष्यमा हुन लागेको प्रतियोगितामा मोफसलका ३ सहित ८ टिमले प्रतिस्पर्धा गर्ने एकेडेमीका केन्द्रीय अध्यक्ष एवं सांसद् विनोद श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगिताको उद्घाटनका दिन १० देखि १६ वर्ष उमेर समूहका लागि फुटबल प्रशिक्षण तथा मदन स्मृति रंगशालाको पनि उद्घाटन गरिने जानकारी दिइयो ।

मोफसलबाट साइनिङ सन फुटबल एकेडेमी, कैलाली, चितवन एफसी र वीरगन्ज युथ ‘ए’ ले भाग लिनेछन् । उपत्यकाका सहभागी टिमहरुमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी, एस नाइट किङ क्लब, चन्द्रागिरी क्लब, ४० प्लस फाउन्डेसन तथा क्लब मोसेस रहेका छन् । उपत्यका बाहिरका टिमलाई आयोजकले खाना र वसोवासको व्यवस्था गर्नेछ ।

विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । पुस २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु चन्द्रागिरी नगरपालिकाको ठूलो ढुंगामा हुनेछ ।