पु.समाचार

राणा पक्राउ गरेको विरोधमा सोमबार पनि तरुण दलद्धारा बाँके बन्द

काठमाण्डौ । बाँके तरुण दलका नेतालाई पक्राउ गरेको विरोधमा सोमबार पनि तरुण दलले बाँके बन्दको घोषणा गरेको छ । एमाले निकट युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि आक्रमण गरेको आरोपमा तरुण दल बाँके क्षेत्र नं. १ का अध्यक्ष दिग्वीजयजंग राणाालाई शनिबार प्रहरीले पक्राउ गरेको विरोधमा सो संगठनले जिल्ला बन्दको आयोजना गरेको हो ।

केही दिनअघि सोही घटनामा संलग्न रहेको आरोपमा युवासंघकै लक्ष्मण मल्ललाई प्रहरीले पक्राउ गरेको थियो । मल्लकै बयानका आधारमा तरुण दलका राणालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आफ्ना कार्यकर्तालाई पक्राउ गरेको विरोधमा आइतबार पनि तरुण दलले बाँके बन्दको आयोजना समेत गरेको थियो । गत पुष १४ गते कोहलपुरस्थित एक रेष्टुरेन्टमा मदिरा सेवन गरेर फर्किने क्रममा बुढाथोकीमाथि आक्रमण भएको थियो ।

आक्रमण लगत्तै युवा संघका कार्यकर्ता मल्ललाई मोटरसाइकलमा राखेर कोहलपुरबाट १० किलोमिटर पर पुर्याएका थिए । उनलाई भगाएर काठमाण्डौ पुर्याइएको थियो । काठमाण्डौमै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

राणालाई योजनाबद्ध रुपमा पक्राउ गरेर फसाइएको तरुण दलका अध्यक्ष जितजंग राणाले आरोप लगाएका छन् । प्रहरीले भने घटनाको अनुसन्धान भैरहेको बताएका छन् ।