पु.समाचार

यो सात दिन कसको भरमा चलिरहेको छ देश ?

काठमाडौं । देश कसले चलाइरहेको छ ? प्रधानमन्त्री पुष्पकमल दाहालले कसैलाई पनि कार्यबाहक नदिई चिन भ्रमणमा निस्केपछि अहिले यो प्रश्न पेचिलो बनेको छ । प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा सरकारको दैनिक कामकारवाही सञ्चालनार्थ मन्त्रिपरिषका बरिष्ठ सदस्यलाई कार्यबाहक दिने परम्परा थियो । तर योपल्ट प्रधानमन्त्रीले कसैलाई पनि कार्यबाहक नतोकी विदेश गए ।

शनिबारको कान्तिपुरमा लेखिएको छ, कार्यबाहक प्रधानमन्त्रीलाई विशेष सुरक्षा स्कटिङ सहितको सुविधा दिइन्छ । प्रधानमन्त्री विदेश भ्रमण उडेलगत्तै कार्यबाहकलाई विमानस्थलबाटै प्रधानमन्त्रीकै हैसियतमा स्कटिङ गरिन्छ । विहीबार दाहाल चीन जाँदा पनि ‘स्कटिङ’ व्यवस्था गरी विमानस्थलमै पठाइएको थियो । तर त्यत्तिकै फर्काउनु पर्यो ।

प्रधानमन्त्री दाहालले कार्यबाहक तोक्न नतोकेसंगै मन्त्रिपरिषदमा मर्यादाक्रमलाई लिएर उत्पन्न विवाद पनि सतहमा आएको छ । दाहालले यसअघि युएई र भारत जाँदा कांग्रेसबाट सरकारको नेतृत्व लिएका उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिलाई कार्यबाहकको जिम्मेबारी दिएका थिए । राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधान तथा स्थानीय बिकास मन्त्रीमा ल्याएपछि मन्त्रिपरिषमा मर्यादाक्रमको विवाद चुलिएको हो ।

निधिले यसअघि दुईपटक कार्यबाहक पाएको र संसदको ठूलो दलको हैशियतले आफूले नै दोस्रो मर्यादाक्रम पाउनुपर्ने दावी गर्दै आएका छन् । थापाले भने आफू निधि अघि नै उपप्रधानमन्त्री भएकाले प्रधानमन्त्री पछिको मर्यादाक्रम आफ्नो भएको जिकिर गरेका छन् ।

प्रधानमन्त्रीको अनुपस्थितमा तत्काल केही घट्ना भएर मन्त्रिपरिषद बैठक बस्नु पर्ने अवस्था आएमा के गर्ने भन्नेबारे उत्तिकै अन्यौल छ । देश नेतृत्वविहीन देखिएको चिन्ता गर्ने पनि उत्तिकै छन् । ‘हुलाकको जमाना होइन यो, जहाँबाट जहाँको काम गर्न पनि प्रविधिले सजिलो बनाएको छ’, उर्जा मन्त्री जनार्दन शर्माले भने, ‘प्रधानमन्त्रीले चीनबाटै देश चलाइरहनु भएको छ ।’

केही दिनअघि संसद बैठकमा उपप्रधानमन्त्री थापा प्रधानमन्त्रीपछिको कुर्चीमा बसेका थिए । मर्यादाक्रम विवादकै कारण बालुवाटारमा प्रमुख दलको बैठकमा समेत निधि उपस्थित हुन छाडेका थिए । स्रोतका अनुसार दाहालले चीन भ्रमणमा जाँदा उनलाई कार्यबाहक दिने आश्वसन दिए पनि विवादकै कारण निर्णयमा पुग्न सकेनन् । ‘थापालाई कार्यबाहक दिएको भए निधिले राजीनामा दिने मनस्थिति बनाउनुभएको थियो’, स्रोतले भन्यो ।

स्वंय कांग्रेसकै सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष थापालाई सरकारमा ल्याउँदा नै दोस्रो मर्यादाक्रम दिने आश्वासन दिएको उर्जामन्त्री शर्माले बताए । ‘कांग्रेस सभापतिले नै कमल थापालाई सरकारमा ल्याउँदा दोस्रो नम्वरको मर्यादाक्रम हुन्छ भनेर विश्वास दिलाउनुभएको थियो’, शर्माले भने ।