आर्थिक

सिभिल बैंकसँग २ फाइनान्स मर्च हुँदै

काठमाण्डौ । सिभिल बैंक लिमिटेडसँग अब दुई फाइनान्स मर्च हुने भएका छन् । आइतबार हामामर्चेन्ट एण्ड फाईनान्स लिमिटेड र युनिक फाईनान्स लिमिटेड प्राप्ति गर्ने सम्बन्धमा सिभिल बैंकसँग अन्तिम सम्झौता भएको हो ।

उक्त सम्झौतामा सिभिल बैंकका अध्यक्ष ई.इच्छाराज तामाङ्ग, हामामर्चेन्ट एण्ड फाईनान्स लिमिटेडका अध्यक्ष राजनकृष्ण श्रेष्ठ र युनिक फाईनान्स लिमिटेडका अध्यक्ष डा.विनोदबहादुर खत्रीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । मर्चपछि बैंकको नाम सिभिल बैंकनै रहने र वर्तमान सञ्चालक समिति एवं उच्च व्यवस्थापन यथावत हुने बताइएको छ ।

सिभिल बैंक र यी दुई फाइनान्सले हालसम्म ३३ अर्ब ६३ करोड निक्षेप संकलन एवम् ३१ अर्ब ६८ करोड कर्जा लगानी गर्न सफल भएका छन् । मर्चपछि सिभिल बैंक लिमिटेडको चुक्ता पूँजी रु.५ अर्ब ५ करोड पुग्ने छ भने यस बैंकको शाखा संख्या ५३ पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताएका छन् ।