पु.समाचार

कांग्रेसले स्थानीय चुनावलाई लक्षित गरेर घोषणा गर्यो महत्वपूर्ण कार्यक्रम

काठमाडौं । कांग्रेसले स्थानीय तहको चुनावलाई लक्षित गर्दै सातवटै प्रदेशमा आमसभा र सबै स्थानीय तहमा केन्द्रीय नेताको उपस्थितिमा सभा गर्ने निर्णय गरेको छ । नेता रामचन्द्र पौडेल नेतृत्वमा बनेको निर्वाचन परिचालन समितिको शुक्रबार बसेको बैठकले सातवटै प्रदेशमा सभापतिसहित शीर्ष नेताले सम्बोधन गर्ने गरी आमसभा गर्ने भएको छ ।शनिबारको नयाँ पत्रिकामा लेखिएको छ, साथै, ७ सय ४४ स्थानीय तहमै केन्द्रीय नेताको उपस्थितिमा सभा गर्ने निर्णय गरेको जानकारी केन्द्रीय सदस्य रमेश रिजालले दिए ।

‘पार्टीका शीर्षस्थ नेताहरू सहभागी भई सातवटा प्रदेशमा ठूला आमसभा गर्ने र ७ सय ४४ स्थानीय तहमा केन्द्रीय नेताले सम्बोधन गर्ने गरी सभा गर्ने निर्णय समिति बैठकले गरेको छ,’ समिति सदस्यसमेत रहेका रिजालले नयाँ पत्रिकासँग भने, ‘ठूला आमसभालाई सभापतिसहित शीर्षस्थ नेतृत्वले सम्बोधन गर्नुहुन्छ । स्थानीय तहका सभालाई पनि सम्बन्धित प्रदेशका केन्द्रीय नेताले अगुवाइ गर्नेछन् ।’

चुनावमा कांग्रेसको पक्षमा जनमत बढाउन प्रचारप्रसारमा केन्द्रीय नेतालाई गाउँ तहसम्मै परिचालन गर्ने तयारी गरिएको जानकारी उनले दिए । ‘ठूला सभामा केन्द्रीय नेता सहभागी हुनुहुन्छ । तर, यसका लागि तालिका बनाएर ल्याउन संयोजकलाई सुझाएका छौँ,’ रिजालले भने, ‘अब संयोजकले चुनावलक्षित प्रचारप्रसारका कार्यक्रम बनाएपछि थप छलफल गर्छौँ ।’

केन्द्रीय कार्यालयका सचिव प्रेम केसीका अनुसार नेता पौडेलले शनिबार कार्यालयका कर्मचारीहरूको सहयोगमा चुनावी प्रचारप्रसारका कार्यक्रम बनाउन छलफल गर्ने भएका छन् । परिचालन समितिको बैठकले पार्टी केन्द्रदेखि जिल्ला क्षेत्र, गाउँ, नगर हुँदै वडा तहसम्म एउटै अठोट र अभियानका साथ पार्टीलाई थप संगठित गर्ने र स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई प्रथम स्थान हासिल गराउने गरी प्रचारप्रसार गर्नुका साथै संगठन सुदृढ गर्ने निर्णय पनि गरेको छ । पार्टीका सबै तहमा स्थानीय निर्वाचन परिचालन समिति गठन गरेर कांग्रेसको पक्षमा माहोल सिर्जना गर्ने तयारी कांग्रेसको छ । कांग्रेसले स्थानीय तहका उम्मेदवार सम्बन्धित पार्टीका समितिले नै गर्ने कार्यविधि बनाएको केन्द्रीय कार्यालयका सचिव केसीले जानकारी दिए । पार्टीमा निरन्तरता दिएका, योग्य र सक्षमलाई उम्मेदवार बनाउने तयारी कांग्रेसको छ ।

कार्यक्रमको खाका बनाउँदै पौडेल: संसद्को सबैभन्दा ठूलो पार्टी कांग्रेसले केही दिनअघि बसेको बैठकबाटै निर्वाचन परिचालन समिति गठन गरेको थियो । शुक्रबार पहिलो बैठकले चुनावलक्षित सभामा शीर्ष नेताले नै सम्बोधन गर्ने निर्णय गरे पनि कहाँ, कस्तो कार्यक्रम गर्ने भन्ने खाका छिटो बनाउन पौडेललाई जिम्मा दिएको छ । पौडेलले कार्यकर्ता परिचालन, प्रचारप्रसारको खाकासम्मका तालिका बनाउनेछन् ।

प्रदेश तहको घोषणापत्रको प्रस्ताव: निर्वाचन परिचालन समितिको बैठकमा सदस्यहरूले पार्टीले स्थानीय तहको चुनावलक्षित घोषणापत्र तयार गर्दा प्रदेश तहलाई आधार मान्न सुझाब दिएका छन् । ‘स्थानीय तहको जानकारी सम्बन्धित क्षेत्रकालाई नै बढी हुन्छ । त्यसैले चुनावी घोषणापत्र तयार केन्द्रको मात्रै होइन प्रदेश तहको पनि तयार गर्नुपर्छ भन्ने सुझाब दिएका छौँ,’ रिजालले भने ।

घोषणापत्र तयारी समितिले काम थाल्दै: केन्द्रीय सदस्य महेश आचार्य नेतृत्वको घोषणापत्र तयारी समितिले केही दिनपछि मात्रै घोषणापत्रको तयारी थाल्ने भएको छ । आचार्यले समिति अझै पूर्ण नभइसकेको भन्दै केही दिनपछि मात्रै चुनावी घोषणापत्र तयारी थाल्ने जानकारी दिए ।

निर्वाचन परिचालन समितिमा को–को ?: प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, चित्रलेखा यादव, पूर्णबहादुर खड्का, डा. रामशरण महत, जीवनबहादुर शाही, अजुर्ननरसिंह केसी, बलबहादुर केसी, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, नारायण खड्का, डा. मीनेन्द्र रिजाल, डा. प्रकाशशरण महत, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, एनपी सावद सदस्य छन् । त्यस्तै, अन्य सदस्यमा आनन्दप्रसाद ढुंगाना, दीपक गिरी, नवीन्द्रराज जोशी, कमला पन्त, अम्बिका बस्नेत, महेन्द्र यादव, पुष्पा भुसाल, शंकर भण्डारी, गगन थापा, जीवन परियार, केशवकुमार बुढाथोकी, गोविन्द भट्टराई, गुरुराज घिमिरे, रामकृष्ण यादव, हृदयराम थानी, विश्वप्रकाश शर्मा, रमेश लेखक, सरिता प्रसाईं, सूर्यमान गुरुङ र रोमी गौचन छन् ।