पु.समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आतंककारी घुसेको भन्दै अमेरिकाले संकेत दिएपछि…!

काठमाडौं । अमेरिकी दूतावासको गोप्य सूचनाका आधारमा अध्यागमन विभागले गम्भीर अपराधमा संलग्न भएको आशंकामा एक इरानी नागरिकलाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले अमेरिकी राहदानीवाहक इरानी नागरिकलाई बिहीबार पक्राउ गरेको हो । अमेरिकी राहदानीमा ती इरानीको नाम अब्दुल लातिफ तासिन सलमान लेखिएको छ । कागजपत्रमा उनको इरानी नाम हमिद छ ।

आइतबारको अन्नपूर्ण पोष्टमा लेखिएको छ, नेपालबाट भारत गएका सलमानको अमेरिकी राहदानी शंकास्पद भएको भन्दै नयाँदिल्ली विमानस्थल अध्यागमनले फिर्ता (इन्ट्री रिफ्युज) गरेको थियो ।सलमानले हराएको अमेरिकी राहदानी (स्टोलन लस्ट ट्राभल डकुमेन्ट पासपोर्ट) मा किर्ते गरी आफ्नो फोटो टाँसेको आशंकामा दिल्ली विमानस्थल अध्यागमनले इन्ट्री रिफ्युज गरेको स्रोतले बताएको छ ।

सलमानले बिहीबार भारत जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय भने सहजै पार गरेका थिए । उनले हराएको अमेरिकी राहदानी प्रयोग गरेका थिए । अमेरिकाले सलमानले हराएको अमेरिकी राहदानी ट्र्याकिङ गरिरहेको थियो । त्यही क्रममा उनी नयाँदिल्ली अध्यागमनको नियन्त्रणमा परेका हुन् ।

भारतबाट इन्ट्री रिफ्युज भएर काठमाडौं आएलगत्तै विमानस्थल अध्यागमन कार्यालयले सलमानलाई अध्यागमन विभागमा बुझाएको थियो । अध्यागमन विभागको हिरासतमा रहेका सलमानलाई शुक्रबार अमेरिकी दूतावासका अधिकारीले बयान लिएका छन् ।

अध्यागमन अधिकारीले बयान लिनुअघि नै अमेरिकी दूतावासका अधिकारीले सलमानको बयान लिएको जानकारी स्रोतले दिएको छ । अमेरिकी दूतावासका अधिकारीले सलमानको लगेज र आवश्यक कागजपत्रसमेत अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएका छन् ।अमेरिकी दूतावासले आतंकवादी संगठन आईएसमा आबद्ध भएको आशंकामा सलमानमाथि विस्तृत अनुसन्धान गरिरहेको छ । नेपाल प्रहरीको विशेष ब्युरोले समेत ती इरानीको गतिविधिप्रति चासो राखेको छ ।

अध्यागमन विभागका महानिर्देशक गंगाराम गेलालले इरानी नागरिक सलमानलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए । महानिर्देशक गेलालले अन्नपूर्णसँग भने, ‘इरानी नागरिक अध्यागमनको नियन्त्रणमा छन् । उनको कागजपत्रको अनुसन्धान भइरहेको छ ।’महानिर्देशक गेलालले इरानी नागरिक सलमानलाई प्रवेशाज्ञा (भिसा) र प्रस्थान अनुमति दिने विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीमाथि पनि छानबिन हुने बताए ।

केही दिनअघि टर्कीको इस्तानबुलबाट नेपाल आएका सलमानले टर्की विमानस्थलमा इरानको राहदानीमा प्रस्थान अनुमति लिएका थिए । काठमाडौं ओर्लिएपछि उनले इरानको राहदानी लुकाएर अमेरिकी राहदानीमा प्रवेशाज्ञा (भिसा) लिएका थिए ।’विमानस्थलपिच्छे उनले राहदानी फेरेका छन् । उनको गतिविधि शंकास्पद देखिएको छ’, विमानस्थलका एक अधिकारीले अन्नपूर्णसँग भने, ‘उनी कुनै आतंकवादी संगठनमा आबद्ध भएको आशंकामा अमेरिकी दूतावासले गम्भीर अनुसन्धान गरिरहेको छ ।’

भारतीय अध्यागमनले इरानी नागरिक सलमानको अमेरिकी राहदानी शंकास्पद भएको भन्दै फिर्ता गरेको थियो । सलमानले साउदी अरेबियाको जाली राहदानीसमेत लिएका थिए । अमेरिकी दूतावासका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनलाई सलमान भारतबाट इन्ट्री रिफ्युज भएको अग्रीम जानकारी दिएका थिए ।

‘प्राविधिक रूपमा हामी कमजोर छौं । उनको राहदानी शंस्कास्पद भएनभएको छुट्ट्याउन सकेनौं’, विमानस्थल अध्यागमन कार्यालयका एक अधिकारीले भने, ‘भारतबाट इन्ट्री रिफ्युज भएपछि मात्र सलमानको राहदानी शंकास्पद भएको थाहा भयो ।’

विगतमा इरानीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी युरोप र अमेरिका छिर्ने प्रयस गर्दै आएका थिए ।नेपालबाट भारत गएका सलमानको अमेरिकी राहदानी शंकास्पद भएको भन्दै नयाँदिल्ली विमानस्थल अध्यागमनले फिर्ता (इन्ट्री रिफ्युज) गरेको थियो ।