पु.समाचार

चुनाव नजिकिदै गर्दा यस्तो छ मधेसीवादी दलहरुको भित्री तयारी

विराटनगर । मधेसवादीले मोर्चा कसेर स्थानीय निकायको निर्वाचन बहिष्कार गरिरहेका छन् । उनीहरूलाई पहिचानवादीले पनि साथ दिएका छन् तर स्थानीय रूपमा भने मोर्चाका नेताकार्यकर्ता नै चुनावको मिति कुरेर बसेका छन् । कुरा मिलेर चुनाव भए भाग लिने नत्र हुन नदिने यस्तै रणनीति छ उनीहरूको ।

मंगलबारको अन्नपूर्णमा लेखिएको छ, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा पूर्वसांसद जयराम यादव विराटनगरको मेयरमा उठ्ने चर्चाले नगर तातेको छ । फोरमका नेता कार्यकर्ताले पनि यो बहसलाई नकारेका छैनन् । यादव भन्छन्, ‘राजनीतिक सहमति भई पार्टीले मलाई जिम्मेवारी दियो भने उठ्छु तर हाम्रा माग पूरा नहुन्जेलसम्म आन्दोलन गरिरहन्छौं ।’ केन्द्रमा कुरा नमिले चुनावमा भाग नलिने बरू अझ सशक्त आन्दोलन गर्ने उनले बताए ।

विराटनगरको मेयरमा कांग्रेस र एमालेले उम्मेदवार तय गरिसकेका छैनन् । लोकप्रिय र निकै दह्रो उम्मेदवार मानिएका यादव आए कस्तो रणनीति बनाउने भन्नेमा कांग्रेस÷एमाले अन्योलमा छन् ।मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको मोरङ निर्वाचन क्षेत्र नम्बर-१ का क्षेत्रीय अध्यक्ष मलिम उद्दिन भन्छन्, ‘चुनाव सबैलाई चाहिएको छ । अझ स्थानीय निकायको चुनाव नहुँदा त जनताले धेरै दुःख पाइसके तर मधेसी समुदायले उठाएका माग सम्बोधन गरेर मात्र चुनाव गरिनुपर्छ ।’उनले राजनीतिक दलले एक आपसमा सहमति कायम गरेर विवादको टुंगो लगाउनुपर्ने सुझाव दिए ।

संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रञ्जित गोस्वामी आफूहरूलाई पनि चुनाव लागेको बताउँछन् । ‘हामी चुनावको विरोधी होइनौं’, गोस्वामीले भने, ‘तर पहिचानको पक्षमा संविधान संशोधन नभएसम्म हामी आन्दोलनमै हुन्छौं ।’ उनले पहिलो संविधान सभापछि पहिचानको पक्षमा उर्लंदो जनमत देखेर दलहरूले चुनाव नगरेको बताउँदै उनले यो पटक भने आफूहरूलाई अल्मल्याएर चुनाव गर्न लागेको आरोप लगाए ।

चुनावको दिन गन्ती आफूले पनि गरिरहेको तर्क गर्दै उनले भने, ‘चुनाव आउन अब ४१ दिन बाँकी छ । चुनाव हुन्छ, हामी भाग लिन्छौं तर हाम्रा माग सम्बोधन हुनुपर्छ ।’चुनावका लागि सुनसरीमा सबै दल लागि परेका छन् । चुनावको विरोध गरिरहेका दलहरू समेत टोलटोलमा सम्पर्क कार्यालय खोलिरहेका छन् । यस्तै चुनावका लागि जनमत सिर्जना गर्न अनौपचारिक घरदैलोसमेत गरिरहेका छन् ।

यस्तै आदिवासी जनजातिको बाहुल्य रहेको सुनसरीको धरानमा पनि संघीय समाजवादी फोरम आन्तरिक तयारीमा लागेको छ ।धरान उपमहानगर कमिटीका अध्यक्ष पारस काङबाङ आन्तरिक रूपमा लागि परेको स्वीकार गर्दै भन्छन्, ‘बाहिर भन्न नमिले पनि हामी आन्तरिक रूपमा चाहिँ तयारीमा लागिरहेका छौं । वडा भेला, महिला समूह गठन गर्ने काम भइरहेका छन् ।’उनले केन्द्रीय तहमा सहमतिको प्रयास भई रहेकाले कुरा मिल्ने र चुनाव हुने विश्वास व्यक्त गरे । राजनीतिक दलबीच बाहिर प्रकाशमा नआए पनि सहमति भने भइसकेको विश्वास गर्दै उनले भने, ‘चुनावमा फोरमले धरानमा राम्रो मत ल्याउँछ ।’

यस्तै तराई मधेस लोकतान्त्रिक पार्टी नेपालले समेत चुनाव आफूहरूको समेत चाहना भएको जनाएको छ । पार्टीका वरिष्ठ जिल्ला उपाध्यक्ष देवराम मधेसीले जनतालाई चुनाव चाहिएको बताए । ‘लोकतन्त्रमा चुनाव हुनुपर्छ’, उनले भने, ‘तर राष्ट्रिय राजनीतिमा सहमति भने हुनुपर्छ ।’ उनले आन्तरिक तबरमा आफूहरूले कुनै तयारी नगरेको दाबी गरे पनि सुनसरीका दक्षिणवर्ती गाविसहरूमा उनको पार्टीसमेत चुनावको तयारीमा जुटेको छ ।

दुई दशकदेखि स्थानीय तहमा जनप्रतिनिधि नहुँदाको पीडा पूर्वी तराईका साना दलका कार्यकर्तालाई छ । उनीहरूको मनसाय स्थानीय तहको निर्वाचन हुनुपर्छ भन्ने नै छ । तर आफ्नो दलका माग र आन्दोलनले निर्वाचनको पक्षमा सीधै वकालत गरेर हिँड्न सकेका छैनन् । कतै स्थानीय तहको निर्वाचन हुन नसक्ने पो हो कि भन्ने चिन्ता छ । तराईको आन्दोलनले झापालाई उतिसाह्रो छोएन । मधेसवादी दलका कार्यकर्ता न आन्दोलनमा निस्के न तनिर्वाचनका विपक्षमा बोलिरहेका छन् । केही निर्वाचनमा भाग नलिने भनिरहँदा धेरैले निर्वाचनको मौन समर्थन गरेका छन् ।

नेपाल सद्भावना पार्टीका झापा अध्यक्ष सूर्यनारायण गणेश स्थानीय तहमा जनप्रतिनिधि चाहिने बताउँदै भन्छन्, ‘विकास निर्माणका कामले गति नलिनु, जनताले भनेजस्तो चाहेजस्तो सुविधा पाउन नसक्नु जनप्रतिनिधिकै अभाव हो ।’ तर उनको पनि आफ्नो दल र मधेसी मोर्चाको आन्दोलनका कारण चुनाव हुनुपर्छ भनेर खुलेर हिँड्न सकेका छैनन् । सबैतिर एकै समयमा चुनाव हुनुपर्ने पक्षमा आफू रहेको र यसले नेपालमा शान्तिको गतिलो सन्देश अन्तर्राष्ट्रिय जगतलाई दिने बताए ।
तमलोपाका झापा अध्यक्ष त्रिनारायण राजवंशीले पहिला प्रदेशको चुनाव भए राम्रो हुने तर्क राखे । सबभन्दा जटिल समस्या भनेको सीमांकन हो भन्दै उनले यो समस्यालाई थाँती राखियो भने राजनीतिक समस्या बल्झिरहने बताए । उनले भने,’स्थानीय तहको निर्वाचन प्रदेशले गराउनुपर्छ ।’

संघीय समाजवादी फोरम नेपालकी महिला नेतृ संगीता रौनियारले स्थानीय तहको चुनाव हुनुपर्ने तर आफ्नो दलको मागका विषयमा सम्बोधन हुनुपर्ने तर्क राखिन् । उनले भनिन्, ‘हामीलाई पनि चुनाव होस् भन्ने लागेको छ । तर हाम्रो माग के हुन्छ ? हाम्रो माग सम्बोधन भए हामी पनि चुनावमा भाग लिन तयार छौं ।’ उनले स्थानीय तहमा जनताका प्रतिनिधि नहुँदा भ्रष्टाचार मैलाएको प्रतिक्रिया दिइन् ।
३० वर्षीया कोलसुम बेगमलाई मतदान गर्ने ठूलो रहर छ । पहिलो र दोस्रो संविधानसभामा भोट हालेको अनुभव सुनाउँदै उनले भनिन्, ‘यो पटक हुने चुनाव त हामीले हाम्रो गाउँ, टोल र ठाउँमा बसेर काम गर्ने प्रतिनिधि छान्नका लागि हो । त्यसैले त्यो क्षणको प्रतीक्षा छ ।’ उनले मतदान गर्न दक्षिणी मोरङका मुस्लिम महिलामा निकै उत्साह देखिएको बताइन् ।

स्थानीय तह निर्वाचनमा भाग लिन २ नम्बर प्रदेशअन्र्तगतको बाराबाहेक सबै जिल्लामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्ध मधेस केन्द्रित दल निर्वाचन कार्यालयमा दर्ता भएका छन् । गत माघ १७ गतेसम्म तोकिएको समय सीमाभित्रै दल दर्ता भएका थिए । मोर्चाका समर्थक र कार्यकर्ता चुनावकै पक्षमा छन् तर मोर्चाको नेतृत्वको निर्देशनमा चुनावको विरोधमा निर्वाचन कार्यालय घेराउ गर्ने क्रम पनि चलिरहेको छ ।

मोर्चाले सोमबार पनि चुनावको विरोधमा २ नम्बर प्रदेशका निर्वाचन कार्यालय घेराउ गरेको छ । मोर्चा पनि ढिलोचाँडो चुनावमा सहभागी हुन्छ भन्नेमै मतदाताको विश्वास छ । जिल्ला निर्वाचन कार्यालय सिरहाका अनुसार जिल्लामा ३१ दल दर्ता भएका छन् । कार्यलयका सुब्बा दिलीप यादवले भने, ‘मतदाता शिक्षा कार्यक्रमअन्तर्गत सामाजिक शिक्षा कार्यकर्ता तालिम पनि सुरु गर्दैछौं । मतदान केन्द्र पुनरावलोकन बैठकमा मोर्चाका प्रतिनिधि सहभागी भई विरोध गरेर बाहिरिन्छन्, अवरोध गरेका छैनन् ।’

मधेसवादी दलका कार्यकर्ताले सिरहामा एमालेलाई चुनावी अभियान चलाउन दिएका छैनन् । उसको चुनावी प्रशिक्षणको माइन्युट र रजिस्टर च्यातिदिएका छन् । निर्वाचन क्षेत्र नम्बर ३ को कृष्णापुरमा शनिबार भएको कार्यक्रम उनीहरूले बिथोले । कार्यक्रम नगर्न चेतावनी दिँदै पार्टीका पूर्वसचिव चन्देश्वर मण्डललाई माफी मगाइएको संघीय समाजवादी फोरमका जिल्ला सदस्य विजयकुमार यादवले बताए । उनले भने, ‘हामी पनि चुनाव हुनुपर्छ भन्छौं तर हाम्रा माग पूरा भएपछि मात्र ।’
सिरहा कचनारी-५ का अशोक यादव जनतालाई देखाउन मात्र चुनावको विरोध गरिरहेको मोर्चाले अन्ततः चुनावमा सहभागी हुनैपर्ने बताउँदै भन्छन्, ‘समय नजिकिएपछि सबै चुनावमा आउँछन् आउनैपर्छ ।’

उनले धेरै समयसम्म स्थानीय तहमा जनताका प्रतिनिधि नहुँदा जनताले दुःख पाएकोले बताए ।जनता चुनावप्रति आतुर भएकाले कांग्रेस, एमाले र माओवादी केन्द्रले चुनावी कार्यक्रम बढाउने तयारी गरेका छन् । कांग्रेस सिरहा सभापति एवं सासंद रामचन्द्र यादवले भने, ‘चुनाव आउन डेढ महिना मात्र बाँकी छ । अब चुनावी कार्यक्रलाई तीव्रता दिँदैछौं ।’

एमाले सिरहा अध्यक्ष प्रमोद यादवले गाउँगाउँमा चुनाव केन्द्रित छलफल भई रहेको बताए । माओवादी केन्द्रका केन्द्रीय सदस्य रामनरायण महतोका अनुसार आन्तरिक चुनावी गतिविधि तीव्र पारिएको छ । ‘कार्यकर्तालाई प्रशिक्षण दिइसकेका छौं’, उनले भने, ‘अब गाउँगाउँमा चुनावी सभाको तयारी हुँदैछ ।