खेलकुद

साइपाल एकेडेमीले जित्यो उपाधि

काठमाडौं । साइपाल एकेडेमीले प्रथम काष्ठमण्डप कप अन्तरविद्यालय छात्र फाइभ ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । काष्ठमण्डप विद्यालयको आयोजनामा सोमबामर मण्डिखाटारमा भएको फाइनलमा साइपालले काठमाडौं जेभियरलाई ९–१ गोलले पराजित ग¥यो । विजयी टिमका लागि निशान माझीले ५, अकोश तामाङले २ तथा मुकेश तामाङ र इङ्लाहाङ लिम्बूले १–१ गोल गरे ।

साइपालले लिग चरणमा रोजबड र बाबालाई हराएको थियो भने रिलायन्स रेसिडेन्सियल स्कुलसंग बराबरी खेलेको थियो । उक्त नतिजासंगै साइपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा साइपालले द एक्सेल्सियर स्कुललाई पाखा लगाउदै फाइनलमा स्थान पक्का गरेको थियो ।

विभिन्न तीन विधागत उत्कृष्टको पुरस्कार पनि साइपालकै खेलाडीले हात पारे । अशोक तामाङ उत्कृष्ट खेलाडी तथा अविनाश बमजन उत्कृष्ट गोलरक्षक चुनिए । प्रतियोगिता अवधिभर १२ गोल गरे निशान माझी सर्वाधिक गोलकर्ता बने ।

विजेतालाई तालिम तथा प्रशिक्षण विभागका उप निर्देशक एवं वरिष्ठ फुटबल प्रशिक्षक विराटकृष्ण श्रेष्ठ, काष्ठमण्डपकी प्रिन्सिपल डा.शिवा थापा र साइपालका प्रिन्सिपल सुमन नगरकोटीले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । तीनदिने प्रतियोगितामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।