पु.समाचार

सम्बन्ध चिसिएको बेला देउवाले दिए निधलाई यस्तो सुझाव

काठमाडौ । कांग्रेस सभापति शेरबहादुर देउवाले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई हतारमा राजीनामा नदिन सुझाएका छन् । शुक्रबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकअघि देउवाले ‘हतार गरेर राजीनामा नदिनू, सरकारमै बसेर काम गर्नुपर्छ’ भनेको जानकारी निधिका प्रेस संयोजक रामजी दाहालले नयाँ पत्रिकालाई दिए । शुक्रबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा निधिले बोल्ने तयारी गरे पनि बिहान सभापति देउवासँगको १० मिनेटको छलफलपछि आफ्नो धारणा नै नराखेको देउवानिकट स्रोत बताउँछ ।

अब के गर्छन् निधि ?
आइतबारको नयाँ पत्रिकामा लेखिइको छ, आफू प्रधानमन्त्री प्रचण्डपछिको वरीयतामा रहेका वेला राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधान एवं स्थानीय विकासमन्त्री बनाएपछि वरीयतामा को अगाडि भन्नेमा विवाद देखिँदै आएको छ । प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाने वेलादेखि नै वरीयता विवाद सतहमा आएको हो ।

देउवानजिकका विश्वासपात्र निधिसँग आइजिपी नियुक्ति प्रकरणदेखि दूरी बढेको थियो । देउवा डिआइजी जयबहादुर चन्द र निधि डिआइजी नवराज सिलवालको पक्षमा रहे । तर, देउवाले जसरी पनि चन्दलाई आइजिपी बनाउन खोजेपछि सरकारले उनैलाई नियुक्ति गरेको थियो । तर, सर्वोच्च अदालतले निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

निधिले वरीयतालाई आफ्नो प्रतिष्ठाको विषय बनाउँदै राजीनामा दिने विषय बाहिर आएको तीन दिन बिते पनि उनले राजीनामा दिएका छैनन् । देउवाका विश्वासपात्र एवं प्रचण्ड नेतृत्वको सरकारका सूत्राधार निधि नै हुन् । फेरि देउवालाई प्रचण्डपछि प्रधानमन्त्री बन्न पनि निधिकै ठूलो साथ र सहयोग चाहिने भएपछि सभापति देउवा र निधि आपसी दूरी नबढाउने अवस्थामा पुगेका छन् ।

‘सभापतिलाई बाइपास गरेर जाने कुरा छैन, मिलेर जाने भन्ने छ,’ निधिनिकट स्रोत भन्छ, ‘सभापतिले जे भन्नहुन्छ, त्यहीअनुसार अघि बढ्नेमा उहाँ हुनुहुन्छ ।’
वरीयता विवादकै कारण ३ चैतयता मन्त्रिपरिषद् बैठक बस्न सकेको छैन । मन्त्रिपरिषद्को बैठक पुनः आइतबारलाई सारिएको छ । वरीयतामा आफूलाई प्रधानमन्त्रीपछि नराखिए निधिले मन्त्रिपरिषद् बैठकमा नजाने तयारी गरेको उनीनिकट स्रोत बताउँछ ।

निधि नभए को ? 
निधिले वरीयतालाई प्रतिष्ठाको विषय बनाएर राजीनामा दिइहाले देउवाले कसलाई अघि सार्छन् भन्ने विषय पनि उत्तिकै महत्वको छ । पछिल्लो समय देउवाले संविधान संशोधनका लागि प्रस्ताव तयार गर्ने जिम्मेवारी कृष्णप्रसाद सिटौलालाई दिएका छन् । सिटौला केही समयदेखि सक्रिय हुने तयारीमा रहँदै गर्दा देउवाको निधिसँग दूरी बढ्नुलाई अर्थपूर्ण रूपमा हेरिएको चर्चा कांग्रेसभित्र छ ।

केही समयअघि कांग्रेसको छलफलमा निधि र सिटौलाबीच संविधान संशोधन र तीनवटा चुनाव गर्ने विषयमा विवाद भएको थियो । सिटौलाले जुनसुकै हालतमा तीनवटा चुनाव गर्नुपर्ने बताए पनि संविधान संशोधन भएपछि मात्र चुनावको आधार तय हुने भन्दै निधिले पहिले संशोधन हुनुपर्ने बताएका थिए । १३ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका सिटौलाले सभापतिको दोस्रो चरणको चुनावमा देउवालाई साथ दिएका थिए । यतिखेर सिटौला देउवासँग पार्टीमा काम गर्ने भूमिकाको खोजीमा रहेका छन् ।