आर्थिक

सरकारी तथ्याङ्क अनुसार डाटा सेवाको आयमा एनसेल अगाडी

axiata-company

काठमाण्डौ । इन्टरनेट सेवाको माग र प्रयोग बढि रहेको बेलामा सरकारी तथ्याङ्क अनुसार यो सेवामा सबभन्दा बढि आय गर्नेमा निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक तथा टेलिकम सेवा प्रदायक कम्पनी एनसेल अगाडी रहेको पाईएको छ ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको टेलिकम क्षेत्रको गत आर्थिक वर्ष २०७२/७३ को प्रतिवेदन अनुसार, एनसेलले गत आ.व.मा डाटा सेवाबाट रु ८.०३ अर्ब आय गरेको छ । सरकारी नेपाल टेलिकमले यो सेवाबाट रु ४.७९ अर्ब आम्दानी गरेको छ ।

टेलिकम कम्पनीहरुको कुल आयमा सबभन्दा बढि योगदान भ्वाइस सेवाको रहद आए पनि प्रत्येक वर्ष डाटा सेवामा ग्राहक संख्या र यसबाट हुने आयमा वृद्घि भईरहेको सरकारी तथ्याङ्कले देखाउछ । प्राधिकरणको प्रतिवेदन अनुसार गत आवमा एनसेलले भ्वाइसबाट रु ४७.३९ अर्ब आय गरेको थियो । त्यस्तै टेलिकमको भ्वाइस सेवाको आय रु ३४.८७ अर्ब रहेको थियो ।

प्राधिकरणको तथ्याङ्क अनुसार, गत आवको अन्त्य सम्ममा एनसेलको ५८ लाख ५५ हजार डाटा ग्राहक रहेका थिए । त्यस्तै टेलिकमका विभिन्न डाटा सेवाहरु ७६ लाख २ हजार ग्राहकले लिएका थिए र समग्रमा नेपालमा १ करोड ३७ लाख जनाले डाटा सेवा लिएका छन् । टेलिकम सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक गरी चार दर्जन भन्दा बढि कम्पनीहरुले इन्टरनेट सेवा प्रदान गरिरहेका छन् ।

प्रविधि विकास, डाटा सेवाको माग बढेसँगै अबको २ वर्षमा डाटा र भ्वाइस सेवाको आय बराबरी हुने अनुमान गरिएको छ । एनसेलले आफ्नो थ्रिजी नेटवर्कमा विस्तार तथा सुधार गरी इन्टरनेटको शुल्क घटाउदै लगेको बताउदै आएको छ ।

केही महिना अधि एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने नाराका साथ डाटा सेवामा पहुँच अभिवृद्धि गर्न भारी शुल्क कटौती गर्दै नयाँ प्याकहरु ल्याएको थियो । कम्पनीले डाटा प्याकहरुमा थप परिमार्जन गरेर ग्राहकले न्युनतम ६ पैसा प्रति एमबि सम्ममा इन्टरनेट सेवा लिन सक्ने बनाएको जनाएको छ ।

एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने नाराका साथ ल्याएको प्याक योजना अन्र्तगत डे प्याकमा डाटा सेवामा ५० प्रतिशत र नाइट प्याकमा २५ प्रतिशतले सेवा शुल्क घटाएकोे थियो । अन्र्तराष्ट्रिय बजारको दाँजोमा नेपालमा इन्टरनेट महंगो भएकोले नेपालीहरुले अझै यो सेवामा पहुँच कम रहेको छ ।

डाटा सेवामा पहुँचका कारण ग्राहकहरुले विश्वका कुनै पनि कुनामा रहेका आफन्त, इष्टमित्र र साथीभाईसँग सजिलै विभिन्न एप्स मार्फत सम्पर्कमा रहन, सामाजिक संजालमा जोडिन, देश विदेशका समाचार तथा जानकारीहरु लिन सहज भएको छ । डाटा सेवा भ्वाइसको तुलनामा थोरै ग्राहकले लिएका कारणले गर्दा यो सेवाको माग अझ बढ्ने प्राधिकरणका अधिकारीहरु बताउछन् ।

टेलिकमले पनि बढिरहेको माग अनुसार विभिन्न डाटा प्याकहरु ल्याएको छ । टेलिकमले डायलअफ, जिएसएमए, सिडिएमए, एडिएसएल अनि वाइमाक्स प्रविधिमा आधारित लगायत विभिन्न इन्टरनेट सेवाहरु प्रदान गर्दै आएको छ भने एनसेलले जिएसएम प्रविधिमा आधारित वायरलेस मोवाइल इन्टरनेट सेवा मात्र प्रदान गर्दै आएको छ ।

प्राधिकरणका अनुसार, प्रतिस्पर्धाले गर्दा डाटा सेवाको शुल्क प्रत्येक वर्ष घटिरहेको छ । सरकारले लिएको ब्रोडब्याण्ड विकासको नीति र पुर्व पश्चिम अप्टिकल फाइबर प्रोजेक्टले गर्दा आउने वर्षहरुमा अझै व्यापक रुपमा यो सेवाको शुल्क र पहुँच बढ्ने आशा लिइको छ ।